इटहरी : राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।
उनले नेकपाकी नमिता न्यौपानेलाई पराजित गरेकी हुन् । यसैगरी दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
पोर्तेलले नेकपाकै खेम सुन्दासलाई पराजित गरे । दुवै जना नेकपा एमालेबाट उम्मेदवार रहेका थिए ।
अन्यतर्फ कांग्रेसका सुनील थापा यसअघि निर्विरोध निर्वाचित भएका थिए ।
कोशी प्रदेशमा कुल ९३ प्रदेश सभा सदस्य र २७४ पालिका प्रतिनिधि मतदाता रहेका थिए। जसमध्ये मतदान प्रक्रियामा ५ जना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारी सहभागी भएनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन बहिष्कार गरेको थियो । कोशी प्रदेश सभामा राप्रपाका ६ जना सांसद छन् ।
तीमध्ये संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सांसद पदबाट राजीनामा दिइसकेका छन्।
बाँकी ५ जना सांसदहरू सभामुख अम्बरबहादुर विष्टसहित गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईंले मतदान गरेनन्।
स्थानीय तहतर्फ पनि राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरूले मतदानमा भाग लिएनन्।
मतदान नगर्नेहरूमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुरकी उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायत रहेका छन्।














Discussion about this post