इटहरी : आउँदो प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कोसी प्रदेशका १४ वटै जिल्लामा नेपाली सेनालाई परिचालन गरिएको छ।
तर यसपटकको सुरक्षा तयारीमा नयाँ सहयोगात्मक रणनीति र संवेदनशील पूर्वाधारको सुरक्षालाई प्राथमिकता दिइएको छ। जसले निर्वाचन व्यवस्थापनमा सेना र अन्य सुरक्षा निकायबीचको समन्वयलाई केन्द्रमा राखेको छ।
गृह मन्त्रालयबाट जारी “एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२” अनुसार, माघ २१ देखि नेपाली सेनाले प्रदेशभर अस्थायी बेस खडा गर्दै सैनिक गस्ती सञ्चालन गर्नेछ।
योजना अनुसार निर्वाचनका लागि संवेदनशील क्षेत्र र महत्त्वपूर्ण पूर्वाधार, जस्तै विमानस्थल, कारागार, मुख्य सडक मार्ग तथा मतदान केन्द्र सुरक्षित गर्ने जिम्मेवारी सेनालाई दिइएको छ।
विशेषतः यो सुरक्षा रणनीतिले मतदाताको स्वतन्त्र आवागमन सुनिश्चित गर्ने, निर्वाचन सामग्रीको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।
यसअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको संयुक्त गस्तीले सुरक्षा जोखिम कम गर्ने र तत्काल प्रतिक्रिया दिने क्षमता थपिनेछ।
सुरक्षा विशेषज्ञका अनुसार यसपटकको चुनावी तयारी पूर्वाधार सुरक्षामा सेना अग्रपंक्तिमा राख्ने र सुरक्षा निकायबीच सहकार्य बढाउने नयाँ रणनीति भएको छ।
यसले मतदाता र उम्मेदवार दुवैको विश्वास बढाउने तथा अप्रत्याशित घटनाबाट निर्वाचन प्रक्रिया प्रभावित नहुने सुनिश्चित गर्ने लक्ष्य राखेको छ।












Discussion about this post