इटहरी : निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति एक महिना पछि सारिएको छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गर्ने तय गरिएको थियो ।
तर २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका कारण निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको नयन मिडिया फाउन्डेसनले जनाएको छ ।
निर्णयअनुसार अब चैत्र ७ गतेलाई तय गरिएको छ । अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको छ ।
‘कोशी एक्सिलेन्स अवार्ड’ कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम रहेको फाउन्डेशनका अध्यक्ष पवन अधिकारीले बताए ।
उनका अनुसार गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको विश्वास र गरिमाका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ ।
निर्वाचनको संवेदनशील समयमा आयोगले तोकेका नियम, सर्त र मापदण्डको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मिति परिवर्तनका कारण सरोकारवालामा पर्न गएको असुविधाप्रति नयन मिडिया फाउन्डेसनले क्षमायाचना व्यक्त गरेको छ ।
नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।















Discussion about this post