धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी तथा उनका आफन्तसँग गरिने व्यवहारलाई थप मर्यादित, संवेदनशील र सेवाग्राहीमैत्री बनाउन ‘बिरामीप्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन गरेको छ।
उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठको निर्णयअनुसार मनोचिकित्सा विभागका प्रा.डा. बैकुण्ठराज अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो।
समितिमा स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सा विभागका एसिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिस्ट्री विभागका एसिस्टेन्ट प्रोफेसर डा. वसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. स्वेता झा सदस्य रहेका छन्।
प्रतिष्ठानमा दैनिक हजारौँ बिरामी उपचारका लागि आउने भएकाले सेवा प्रवाहका क्रममा हुने बोलिचाली र व्यवहारलाई थप व्यावसायिक बनाउने उद्देश्यले समिति गठन गरिएको हो।
यसअन्तर्गत चिकित्सक, नर्स, पारामेडिक्स तथा प्रशासनिक कर्मचारीलाई लक्षित गरी चरणबद्ध रूपमा उत्प्रेरणामूलक तालिम सञ्चालन भइरहेको छ। हालसम्म ७८ जना हेल्थ एड तहका कर्मचारीले तालिम लिइसकेका छन् भने हेल्पर तहका कर्मचारीलाई प्रशिक्षण सुरु गरिएको प्रतिष्ठानले जनाएको छ।
तालिममा बिरामीसँग संवाद गर्दा प्रयोग हुने भाषा, हाउभाउ, उपचार प्रक्रिया बुझाउने तरिका तथा बिरामीको मनोवैज्ञानिक अवस्था बुझेर सकारात्मक ऊर्जा दिन सक्ने सीपबारे अभ्यास गराइँदै आएको छ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार स्वास्थ्यकर्मीको बोली र मर्यादित व्यवहारले नै बिरामीको उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ यो पहल थालिएको हो।
स्वास्थ्य संस्थामा बिरामी र स्वास्थ्यकर्मीबीच हुने सम्भावित असमझदारी न्यूनीकरण गर्दै सेवा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य समितिले लिएको छ।














Discussion about this post