इटहरी : निर्वाचन बहिष्कार अभियानसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पार्टीका १५ नम्बर ब्यूरो इन्चार्ज सीताराम बुढाथोकी र सोही ब्यूरोका सचिव डिल्ली बोहोरा रहेका छन्। उनीहरूलाई शनिबार इटहरीको पशुपति चोक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्वाचन बहिष्कार अभियानका कारण सार्वजनिक शान्ति भंग हुन सक्ने आशंकालाई मध्यनजर गर्दै संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
उक्त टोलीमा कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय इटहरीका सुरक्षाकर्मी सहभागी थिए।
प्रहरीले प्रारम्भिक सूचनाका आधारमा उनीहरू निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा निगरानीमा राखेको जनाएको छ।
सोही क्रममा पशुपति चोकमा भेटिएपछि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचन नजिकिँदै गर्दा जिल्लाभर सुरक्षा सतर्कता कडा पारिएको छ। प्रहरीले आम नागरिकलाई शान्तिपूर्ण र कानुनसम्मत ढंगले आफ्ना विचार अभिव्यक्त गर्न अनुरोध गरेको छ।












Discussion about this post