पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार अपराह्न दोक्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे १ च ६०२९ नम्बरको अमलिसो बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो।
दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको नेतृत्वमा खटिएको टोलीले घाइते तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो।
उपचारका क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको अस्पतालले जनाएको छ।
गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दीप उभरकोटी सामान्य घाइते रहेका छन् भने चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली पनि सामान्य घाइते छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।












Discussion about this post