झापा : झापाको मेचीनगरमा ड्युटी सकेर फर्किँदै गरेका सशस्त्र प्रहरी सवार मोटरसाइकल दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–१२ घर भई मेचीनगर–२ बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार सचिन तामाङ रहेका छन्।
मंगलबार साँझ करिब साढे ५ बजे मदन भण्डारी राजमार्गअन्तर्गत दुर्गा मन्दिर नजिक तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइए पनि उपचारकै क्रममा साँझ ६ः४५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–१ निवासी ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लीराम सुब्बा घाइते भएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












Discussion about this post