धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको अनलाइन जनरल ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानले स्वास्थ्य सेवाहरूलाई थप व्यवस्थित, छिटो, प्रभावकारी तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको अनलाइन जनरल ओपीडी दर्ता एप केही समयका लागि स्थगित गरिएको थियो।
नेपाल सरकारको निर्देशनअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयन हुने व्यवस्था मिलाउन तथा ओपीडी सेवा तालिका पुनःसमायोजन एवं प्रणाली अद्यावधिक गर्न गत जेठ ८ गतेदेखि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार आवश्यक पुनःसमायोजन तथा प्रणाली अद्यावधिक गर्ने कार्य सम्पन्न भएसँगै असार १ गतेदेखि लागू हुनेगरी अनलाइन जनरल ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा ल्याइएको हो।
प्रतिष्ठानले आगामी केही दिनभित्र स्वास्थ्य बीमा तथा पेइङ अन्तर्गतका सेवाग्राहीका लागि समेत अनलाइन दर्ता सुविधा सञ्चालनमा ल्याइने जनाएको छ।
अनलाइन दर्ता प्रणाली पुनः सञ्चालनमा आएपछि सेवाग्राहीले अस्पतालमा लामो समय लाइन बस्नुपर्ने झन्झट कम हुनुका साथै सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रतिष्ठानले सम्पूर्ण सेवाग्राही तथा सरोकारवालालाई उपलब्ध सेवाको अधिकतम उपयोग गर्न अनुरोध गरेको छ।













Discussion about this post