विराटनगर : विराटनगरको एक चर्चित रेस्टुरेन्टमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने रसायन प्रयोग गरी मिठाई उत्पादन गरिएको खुलेपछि खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनमा मिथिला थाली विराटनगरमा मिठाई उत्पादनका क्रममा ‘हाइड्रो’ नामक रसायन र कृत्रिम रङ प्रयोग गरिएको भेटिएको हो।
अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको, लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखिएको तथा करिब पाँच किलो तयारी मिठाईसमेत जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ।
अनुगमन टोलीका अनुसार रेस्टुरेन्टको भान्सा अत्यन्त अस्वच्छ अवस्थामा भेटिएको थियो। खाद्य सामग्री खुला रूपमा राखिएको, भान्साका उपकरण नियमित रूपमा सफा नगरेको तथा सरसफाइसम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नभएको पाइएको छ।
कार्यालयले तत्काल सुधार गर्न निर्देशन दिँदै पुनः अनुगमन गरिने जनाएको छ। तोकिएको मापदण्ड पालना नगरे कानुनबमोजिम कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।
स्थानीय प्रशासनले बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ। उपभोक्ता अधिकारकर्मीहरूले भने एकपटकको कारबाहीभन्दा पनि यस्ता व्यवसायमा नियमित र आकस्मिक अनुगमन आवश्यक रहेको बताएका छन्।














Discussion about this post