इटहरी : सुनसरीको रामधुनी नगरपालिका–७ की ४४ वर्षीया तेजकुमारी परियारको ब्लड क्यान्सरको उपचार भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा जारी छ। उपचारका क्रममा हालसम्म करिब ३० लाख रुपैयाँ खर्च भइसकेको परिवारले जनाएको छ।
तेजकुमारीकी छोरी सुनेना परियारका अनुसार चिकित्सकले अब बोन म्यारो (स्टेम सेल) प्रत्यारोपण गर्नुपर्ने बताएका छन्। प्रत्यारोपण प्रक्रियाका लागि मात्रै थप १८ लाख रुपैयाँ आवश्यक पर्ने जानकारी अस्पतालले दिएको छ।
परिवारका अनुसार प्रत्यारोपण सम्पन्न भएपछि पनि उपचार सफल भयो वा भएन भन्ने नतिजा आउन करिब तीन महिना लाग्ने चिकित्सकहरूले बताएका छन्। त्यस अवधिमा बिरामीलाई निरन्तर निगरानीमा राख्नुपर्नेछ।
सुनेनाले आमालाई प्रत्यारोपणपछि करिब एक महिना अस्पतालमै भर्ना राख्नुपर्ने र त्यसपछि पनि नियमित किमोथेरापी तथा अन्य औषधि उपचार जारी रहने बताइन्।
उनका अनुसार प्रत्यारोपण प्रक्रिया रगत चढाएजस्तै देखिए पनि त्यसपछि संक्रमणको जोखिम अत्यधिक हुने भएकाले सबै कुरा बिरामीको शरीरले उपचारलाई कसरी स्वीकार गर्छ भन्नेमा निर्भर रहने चिकित्सकहरूले बताएका छन्।
परिवारका अनुसार उपचार चुनौतीपूर्ण रहेको जानकारी चिकित्सकले दिएका छन्।
यसअघि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गर्दा तेजकुमारीमा ब्लड क्यान्सर पुष्टि भएपछि उनलाई काठमाडौंको सिभिल अस्पताल हुँदै थप उपचारका लागि दिल्ली लगिएको थियो।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारको खर्च जुटाउन परिवारले सहयोगको अपिल जारी राखेको छ। विराटनगरस्थित आइएसएमटी कलेजमा अध्ययनरत उनकी छोरी सुनेना र उनका साथीहरूले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सञ्चालन गरिरहेका छन्।
पीडित परिवारले उपचार निरन्तरता दिन सबैलाई सकेको आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ।
सहयोगका लागि तलको क्यूआर प्रयोग गर्न सकिने परिवारको भनाइ छ ।















Discussion about this post