धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दन्त उपचार तथा रोग निदानलाई थप प्रभावकारी बनाउन अत्याधुनिक त्रिआयामिक (थ्रीडी) दन्त स्क्यान सेवा सञ्चालनमा ल्याएको छ।
प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीअन्तर्गत मुख स्वास्थ्य तथा रेडियोलोजी विभागमा विश्वस्तरीय डिजिटल इमेजिङ प्रविधिमा आधारित ‘सीएस–९६०० फुल एफओभी’ कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी) मेसिन जडान गरी शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो।
मेसिनको उद्घाटन निमित्त कार्यालय प्रमुख डा. इन्द्र लिम्बु र प्राध्यापक डा. शिवलाल शर्माले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा सहायक अस्पताल निर्देशक डा. विजय श्रेष्ठ, कलेज अफ डेन्टल सर्जरीका प्रमुख प्राध्यापक डा. नवीन अग्रवाल, कायममुकायम सह–रजिस्ट्रार सागर ताम्राकार, प्रवक्ता प्राध्यापक डा. शमशेर श्रेष्ठ, विभागीय प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
प्रतिष्ठानका अनुसार नयाँ प्रविधिमा आधारित उक्त मेसिनले न्यून विकिरण प्रयोग गरेर उच्च गुणस्तरका त्रिआयामिक तस्बिर उपलब्ध गराउँछ। कृत्रिम बुद्धिमत्ता (एआई)को सहयोगमा सञ्चालन हुने यस प्रणालीले दाँत, मुखभित्रका कोमल तन्तु, स्नायुको मार्ग तथा बङ्गाराको हड्डीको सूक्ष्म अध्ययन गर्न सहज बनाउनेछ।
प्रतिष्ठानले यो प्रविधिबाट विशेषगरी दाँत, मुख तथा अनुहारसम्बन्धी रोग र नाक, कान तथा घाँटीसम्बन्धी रोगको निदान र उपचारमा उल्लेखनीय सहयोग पुग्ने जनाएको छ।
दन्त प्रत्यारोपण (इम्प्लान्ट) गर्नुअघि हड्डी र स्नायुको अवस्थाको मूल्याङ्कन, अनुहारसम्बन्धी जटिल शल्यक्रियाको योजना, उपचारपछिको अनुगमन, दाँत मिलाउने उपचार, बालबालिकाको दन्त उपचार तथा बङ्गाराको जोर्नीसम्बन्धी समस्याको परीक्षणमा यो प्रविधि उपयोगी हुने विश्वास लिइएको छ।
प्रतिष्ठानले यो सेवा सुलभ शुल्कमा उपलब्ध गराएको जनाएको छ। नयाँ मेसिनले परम्परागत सिटी स्क्यान र एक्स–रेको तुलनामा निकै कम विकिरण उत्सर्जन गर्ने भएकाले बिरामी र स्वास्थ्यकर्मी दुवैका लागि सुरक्षित हुने दाबी गरिएको छ।
प्रतिष्ठानले यस प्रविधिको सञ्चालनसँगै पूर्वी नेपालका बिरामीले अत्याधुनिक दन्त तथा मुख स्वास्थ्यसम्बन्धी परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता घट्ने र देशभित्रै गुणस्तरीय सेवा प्राप्त हुने अपेक्षा गरेको छ।















Discussion about this post