इटहरी : आर्थिक मन्दी, कमजोर बजार, उच्च बैंक ब्याजदर र नीतिगत अन्योलले व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारलाई तत्काल व्यवसायमैत्री नीति ल्याउन दबाब दिएका छन्।
उनीहरूले निजी क्षेत्रको मनोबल घट्दै गएको उल्लेख गर्दै लगानी, उत्पादन र रोजगारी जोगाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
उद्योग वाणिज्य संघ इटहरीको २६औँ र २७औँ वार्षिक साधारणसभाका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्त बन्दै जाँदा धेरै उद्योग तथा व्यापार धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
व्यवसायीहरूले अहिलेको आर्थिक अवस्थाले निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास कमजोर बनाएको बताएका छन्। कर प्रणालीमा देखिएको जटिलता, बैंकको उच्च ब्याजदर, बजारमा उपभोग घट्दै जानु, तरलताको समस्या र नीतिगत अस्थिरताले उद्योग–व्यवसाय सञ्चालन कठिन बन्दै गएको उनीहरूको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनाको मुख्य आधार निजी क्षेत्र भएकाले सरकार र व्यवसायीबीच सहकार्य अझ मजबुत बनाउनुपर्ने बताए।
उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा उद्योग विस्तारमा निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै सरकारका नीति पनि त्यसअनुसार केन्द्रित हुनुपर्ने धारणा राखे।
‘स्देशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार, रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण छ,’ प्रदेश प्रमुख खापुङले भने।
कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आफ्नो तीन वर्षे कार्यकालमा संघले व्यवसायीका समस्या समाधान, विभिन्न सरकारी निकायसँग समन्वय तथा निजी क्षेत्रका साझा मुद्दा उठाउने काम गरेको बताए।
उनले अहिले निजी क्षेत्रले भोगिरहेका चुनौती समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने उल्लेख गर्दै व्यवसायीको आत्मविश्वास बढाउने नीति आवश्यक रहेको बताए।
कार्यक्रममा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले पनि वर्तमान आर्थिक अवस्था, कर प्रशासन र उद्योग–व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा धारणा राखेका थिए।
सोही अवसरमा स्थानीय अर्थतन्त्र, उद्यमशीलता र सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यवसायी उमेश पौडेल, मनोज चौधरी, पूर्णकाजी श्रेष्ठ, विमलकुमार राठी तथा तुलसा कालाखेतीलाई सम्मान गरिएको थियो।
यसैबीच, उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते निर्वाचन हुँदैछ। अध्यक्षका लागि नवराज काफ्ले र गायत्री कटवाल भण्डारीको दुई समूह चुनावी मैदानमा छ।
व्यवसायीहरूले आगामी नेतृत्वले निजी क्षेत्रका मुद्दा अझ सशक्त रूपमा उठाउनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।





















Discussion about this post