संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसेमा साथीसँग खोलामा नुहाउन गएकी एक बालिकाको नदीमा आएको बाढीमा बगेर मृत्यु भएको छ।
गर्मी छल्न घर नजिकैको सभाखोलामा पुगेकी १२ वर्षीया जानकी लिम्बूको मंगलबार दिउँसो ज्यान गएको हो।
प्रहरीका अनुसार दिउँसो करिब २ः५० बजेतिर जानकी र स्थानीय १० वर्षीया रेसु लिम्बू घरदेखि करिब दुई सय मिटर टाढाको सभाखोलामा नुहाउन गएका थिए।
नुहाउने क्रममा जानकीलाई खोलाले बगाएको थियो भने रेसु भने सकुशल रहेकी छन्।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बाह्रविसेबाट प्रहरी सहायक निरीक्षक देवनारायण माझीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
स्थानीयवासीसँगको संयुक्त खोजीपछि जानकीको शव पाँचखपन नगरपालिका–१ स्थित निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्याम नजिक पश्चिमतर्फ ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए।
प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post