धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी मापदण्ड उल्लंघन गरेको निष्कर्ष निकाल्दै हालसम्म ३५ वटा औषधि पसल सिलबन्दी गरेको छ।
इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर र सम्बन्धित वडा कार्यालयको संयुक्त टोलीले असार अन्तिम सातादेखि सुरु गरेको अनुगमनमा अधिकांश पसल कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको पाइएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार दर्ता भएका फार्मासिस्ट अनुपस्थित रहने, अर्कै व्यक्तिको नाममा पसल सञ्चालन गर्ने, व्यवसाय नवीकरण नगरेका तथा आवश्यक कानुनी कागजातबिनै औषधि बिक्री गर्ने पसलमाथि सिलबन्दीको कारबाही गरिएको हो।
अनुगमन टोली पुगेपछि पसल बन्द गरेर सम्पर्कविहीन भएका तथा अनुगमनमा असहयोग गर्ने पसलहरूलाई समेत सिल गरिएको उनले बताए।
सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजातको परीक्षणपछि प्रचलित कानुनअनुसार थप कारबाही गरिने प्रशासनले जनाएको छ।
गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि प्रशासनले अस्पतालभित्रको स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित बनाउन औषधि पसलमाथिको निगरानी कडा बनाएको हो।
प्रशासनले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन हुने कुनै पनि औषधि पसललाई छुट नदिइने स्पष्ट गर्दै यस्ता अनुगमन आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।

















Discussion about this post