विराटनगर : ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लामा आयोजित रक्तदान कार्यक्रममा २०६ जनाले रक्तदान गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा सोमबार विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी, सञ्चारकर्मी तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थी गरी १३६ जनाले रक्तदान गरेका थिए ।
नेपाल प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल तथा सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारीलगायतको उपस्थिति थियो ।
यसैगरी, ७१औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम र धनकुटाद्वारा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी गरी ७० जनाले रक्तदान गरेका छन् ।
प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्नुका साथै प्रहरी र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।















Discussion about this post