इटहरी : धरानमा रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको आशंका गरी १३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
स्वास्थ्य परीक्षण गराउँनेमा चैत्र ४ गते कतार एयरवेजमा कोरोना संक्रमित युवती संगै प्लेनमा आएका तीन जना, इटहरीबाट एक जना, सिराहाको लाहानबाट १ जना, प्रतिष्ठानमै अध्ययनरत भारतीय विद्यार्थी २ जना, भारतको दिल्लीबाट आएका १ जना, भारतको केरेलाबाट आएका एक दम्पती र चिनिया नागरिक गरी जम्मा १३ जना प्रतिष्ठानमा आईपुगेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले जानकारी दिए । शाहले दिएको जानकारी अनुसार अहिले ५ जना प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ भने अरु ८ जनालाई मोरङको टाँडीस्थित क्वारेनटाईनमा रेफर गरिएको छ ।
यसैबीच सरकारले कोभिड–१९ को परीक्षण अब धरानमा नै गर्ने निर्णय सरकारले गरेको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन भने लाग्नेछ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो ।
वीपी प्रतिष्ठान धरानले भने कोरोनाको परिक्षण गर्ने ल्याब तयार गरिसकेको डा. शाहले बताए । उनका अनुसार सरकारले किट पठाएसँगै कोरोनाको परीक्षण गर्ने तयारी गरिएको हो ।
Discussion about this post