विराटनगरको नोबेल अस्पतालले उदयपुर घर भएकै कारण फेरि बिरामीलाई अस्पतालबाट निकालेको छ ।
यसअघि प्रसूति व्यथा लागेर २९ वर्षीय सरस्वती रौनियारलाई अप्रेसन थियटरबाटै उदयपुर घर भएकै कारण निकालिएको थियो ।
यसैबीच शुक्रवार पनि उदयपुर त्रियुगा नगरपालिकाकाका १६ वर्षीय भीमबहादुर खत्रीलाई अप्रेसन थियटरबाट रेफर गरेको छ ।
अप्रेसन थियटरमा गएपछि ठेगाना कहाँ भनेर डाक्टरले सोधेको र खत्रीले उदयपुर भनेपछि उनलाई निकालिएको पीडितले गुनासो गरेका छन् ।
बिहीबार देब्रे हात भाँच्चिएर उपचार गराउन आएका उनी डाक्टरको सल्लाह अनुसार नै अप्रेसन गराउन राजी भए पनि ज्वरो आएको बहानामा उनलाई नोबेलले निकालेको हो ।
हामीले शुक्रबार अप्रेसन गर्नका लागि ३२ हजार रुपैँया पैसा नै जम्मा गरिसकेका थियौँ, उनका काका शमशेर खत्रीले भने, अप्रेसन थियटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालेर डाक्टरले रेफर पुर्जी थमाइदिए ।
अहिले कोभिड १९ को संक्रमणको डरले निजी मेडिकल कलेजले बिरामी रेफर गर्न थाल्ने क्रम बढ्दै गएको छ । नोबलले यसअघि सुनसरीका एक युवाको भर्ना नलिदाँ उनको एम्बुलेन्समै मृत्यु भएको थियो ।
Discussion about this post