इटहरी : इटहरी उपमहानगरपालिकामा बजार अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ तथा खाद्य सामाग्री भेटिएको छ ।
म्याद गुज्रिएका खाद्य सामाग्री तथा पेय पदार्थ भेटिएपनि इटहरी उपमहानगरले कहाँ–कहाँ अनुगमन गरेको भन्नेबारे लुकाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिकामा, घरेलु तथा साना उद्योग कार्यालय इटहरी, उद्योग वाणिज्य सङ्घ इटहरीको संयुक्त समन्वयमा बजार अनुगमन गरिएको र खाद्य तथा पेय पदार्थ म्याद गुज्रिएको भेटिएको थियो ।
इटहरी उपमहानगरपालिका बजार अनुगमन शाखाकी खाद्य निरीक्षक अनु अर्यालले इटहरीका दुई वटा होटल, चारवटा किराना पसल र एउटा डिपार्टमेन्ट स्टोरमा अनुगमन गरिएको भएपनि कहाँ–कहाँ अनुगमन गरिएको भन्नेबारे दिन नमिल्ने बताइन् ।
‘मलाई अफिस टाइममा आएर भेट्नुहोस् १० बजे । अनुगमन कहाँ गरेको भनेर पनि किन खुलाउनु ?,’ अनुगमनका क्रममा केके बरामद भए भन्ने जिज्ञासामा उनले भनिन्, ‘पेय पदार्थ भन्नुहोस् न !’
उनले कुन पसलमा अनुगमन गरेको भनेर खुलाउन आवश्यक नभएको र स्प्राइट, कोक, फेन्टा, रियल जुस नभनेर पेय पदार्थ भन्नसमेत जिकिर गरिन् ।
बजारमा हुन सक्ने अखाद्य बस्तुको बिक्री, कालोबजारी मूल्य अभिवृद्धि गर्नसक्ने कुराहरूलाई मध्यनजर गरी इटहरीका विभिन्न ठाउँहरूमा अनुगमन गरिएपनि उपमहानगरले सूचना भने लुकाउने गरेको छ ।
कुन पसलमा अनुगमन गरिएको भन्न नमिल्ने र ‘समाचारमा सो कुरा नलेखिदिनका लागि’ पनि सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।
अनुगमनका क्रममा एक सय लिटरभन्दा बढी म्याद गुज्रिएका पेय पदार्थ साथै च्यावन प्रास, मह, सनफ्लावर तेल, घ्यू, बिना लेवल प्याकिङ गरिएको मकैलगायतका सामाग्री नष्ट गरिएको थियो । अनुगमनको क्रममा होटेलहरूमा सरसफाइ नभएको, होटलमा काम गर्ने कामदारहरूले एप्रोन, हेयर क्याप नलगाएको पाइएकोले तुरुन्त सुधार गर्नसमेत निर्देशन दिइएको थियो ।
अनुगमनको क्रममा बरामद गरिएको अखाद्य सामान सबैको रोहबरमा नष्ट गरिएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
यसरी म्याद गुज्रिएका र अखाद्य सामाग्रीहरू फेला परेको स्थानहरूमा सुधार गर्न लिखित निर्देशन दिइएको उनको भनाइ छ ।
त्यसो त उपमहानगर तथा सम्बन्धित निकायले पूर्व सूचना दिएर अनुगमन गर्दै आएको छ । कुनै छड्के अनुगमन नगर्ने तर पूर्व सूचना दिएर अनुगमन गर्ने गरेको स्वयम् व्यापारीहरू बताउँछन् ।
‘आज हामी तपाईँहरूकहाँ अनुगमन गर्न आउँछौं भन्ने तरिकाले पहिल्यै सूचना दिएर अनुगमन गरेजस्तो गरिन्छ,’ इटहरी ६ स्थित एक होटलमा काम गर्ने कर्मचारी भन्छन्, ‘अनुगमन गर्दा कुनै सीमित ठाउँमा गरेजस्तो गरेर भत्ता पचाउने मेलोजस्तो मात्रै देखिन्छ ।’
अनुगमन निष्पक्ष हिसाबमा सबै पसल तथा होटलहरूमा गर्नुपर्ने जानकारहरू बताउँछन् । ‘अहिलेको बजार अनुगमन भनेको सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने तरिकाबाट हुँदै आएको छ,’ एक जानकारले भने ।
Discussion about this post