हिन्दु वैदिक सनातन धर्ममा श्रीकृष्णलाई विष्णुको पूर्ण अवतार मानिन्छ । विष्णुका दश अवतारमध्ये श्रीकृष्ण आठौँ अवतार हुन् । श्रीकृष्णले धराधाम छाडेपछि द्वापर युगको समापन भएर कलियुगको आरम्भ भएको मानिएको छ ।
हाल भारतको उत्तर प्रदेशस्थित मथुरा जिल्लामा कंसको दरबारमा श्रीकृष्णको जन्म भएको थियो । कंशले देवकीको आठौँ गर्भले आफुलाई मार्ने आकाशवाणी सुनेपछि वसुदेव र देवकीलाई जेलमै बन्दी बनाएर राखेको थियो । महाभारतको युद्धमा समेत कुशल रणनीतिज्ञका रूपमा रहेका श्रीकृष्णको जन्म भाद्र महिना, कृष्ण पक्ष, अष्टमी तिथि, बुधबार मध्यरातमा उनको जन्म भएको थियो ।
उनै महान् ईश्वर श्रीकृष्णका दश रहस्यमयी तथ्य यहाँ प्रस्तुत गरिएको छ –
१. कारागारमा कृष्णको जन्म
श्रीमद्गभागवतका आधारमा कृष्णको जन्म मथुराको कारागारमा देवकी र वसुदेवका आठौँ सन्तानका रूपमा भएको थियो । कंसले देवकीका सन्तानबाट आफ्नो मृत्यु हुने भविष्यवाणी सुनेपछि उनलाई र वसुदेवलाई कारागारमा राखेको थियो । कृष्ण जन्मिएको रात कारागारका ढोका खुलेको र पहरेदारहरू निदाएको कथा पाइन्छ ।
२. यमुना नदी पार गर्न वासुकी नागको छाता
कृष्ण जन्मिएपछि वसुदेवले उनलाई टोकरीमा राखेर गोकुल लैजाँदा यमुना नदी पार गर्नुपरेको थियो । भदौको महिना भएका कारण उर्लिएको थियो । वसुदेव नदीमा प्रवेश गर्दा जलको सतह घटेको र शेषनागले कृष्णलाई वर्षाबाट जोगाएको वर्णन पाइन्छ ।
३. बालकृष्णको असाधारण शक्ति
कृष्णको बाल्यकालका कथाहरूमा उनले सामान्य बालकभन्दा असाधारण शक्ति प्रदर्शन गरेको वर्णन पाइन्छ । पूतना, शकटासुर र त्रिणावर्तजस्ता दैत्यसँग सम्बन्धित कथाहरूमा बालकृष्णले उनीहरूलाई परास्त गरेको उल्लेख पुराणहरूमा छ ।
४. त्रेता युगका रामलक्ष्मण, द्वापरका कृष्ण बलराम
पौराणिक मान्यताअनुसार त्रेतायुगमा राम र लक्ष्मणको भ्रातृत्वलाई उदाहरणीय मानिन्छ । लक्ष्मणले भाइ हुनाका कारण राममाथि परेका सबै विपत्तिमा साथ दिएका थिए । सोही लक्ष्मणको पूर्वअवतारको ऋण तिर्न द्वापरमा श्रीरामले श्रीकृष्ण भएर जन्म लिएका थिए भने लक्ष्मण दाजु अर्थात् बलराम बनेका थिए भनिन्छ ।
५. गोवर्धन पर्वत उठाएको कथा
इन्द्रको सट्टा गोवर्धन पर्वतको पूजा गर्ने श्रीकृष्णको सल्लाहबमोजिम गोकुलबासीले त्यसै गरे । रिसाएका इन्द्रका कारण गोकुलमा ठूलो वर्षा भएपछि श्रीकृष्णले गोवर्धन पर्वतलाई आफ्नो कान्छी औँलामा उठाएर गाउँवासीलाई आश्रय दिएका थिए । मैदानी भूभागमा पनि करीब २० किमी क्षेत्र अहिले पनि गोवर्धन पर्वत भारतमा देख्न सकिन्छ । जहाँ परिक्रमा गर्न दैनिक लाखौँ भक्तजन जाने गर्दछन् ।
६. अर्जुनलाई श्रीमद्भगवद्गीताको ज्ञान
महाभारतको युद्धमा कृष्णले अर्जुनलाई गीता ज्ञान गराएका हुन् । आफ्ना भाइभारदार र गुरुलाई मारेर राज्य प्राप्त गर्नुभन्दा बरु युद्ध नगर्ने मनसायमा पुगेका अर्जुनलाई क्षत्रीय धर्म सिकाउन गीता ज्ञान गराएको तथ्य महाभारतमा वर्णित छ ।
७. श्रीकृष्णका पत्नी दश, गोपिनी १६ हजार :
श्रीकृष्णका रुक्मिणी, सत्यभामालगायत विवाहित पत्नी दशवटी रहेको पौराणिक प्रमाण पाइन्छ । जताततै १६ सय गोपिनी भनिए पनि श्रीकृष्णलाई सर्वस्व सुम्पिएका गोपिनीहरू १६ हजार १०८ रहेको पौराणिक तथ्य पाइन्छ ।
८. कौरवलाई हराउन किन पाण्डव पक्षमा लागे श्रीकृष्ण ?
भनिन्छ, महाभारतको युद्ध तयारी थाल्दै गर्दा दुर्योधन र अर्जुन दुवैजना एकैपटक श्रीकृष्णका दरबार द्वारकामा गएका थिए । शयन गरिरहेका श्रीकृष्णको पाउतिर अर्जुन बसे, शिरतिर दुर्योधन बसे । बिउँझिँदा श्रीकृष्णले अर्जुनलाई पहिले देखेपछि किन आयौ भनी सोधे । अर्जुनले युद्धमा हजुरको सहायता चाहियो भने । दुर्योधनले सेना मागेका थिए भने अर्जुनले केवल श्रीकृष्ण, त्यो पनि सारथिका रूपमा ।
९. राधा र कृष्णको सम्बन्ध के हो ?
पौराणिक तथ्यअनुसार कतै पनि राधा र कृष्णको वर्णन पाइँदैन । श्रीकृष्णका पत्नीका रूपमा दशवटी देवीहरूमा राधा छैेनन् । राधा र कृष्णको चर्चा केवल गर्गसंहितामा मात्र पाइएकाले कतिपयले राधाको अस्तित्वलाई स्वीकार गरेका छैनन् । राधा र कृष्णको सम्बन्ध काल्पनिक मात्र हो भन्ने तथ्य धेरै विद्वान्हरूले बताएका छन् भने राधाकृष्णलाई नै पूर्ण ब्रह्म मान्ने समूह पनि छ । यो एक किसिमले विवादित विषय हो भने एक किसिमले सामान्य र स्थापित परम्परा पनि हो ।
१०. श्रीकृष्णले गरेका थिए पशुपतिनाथ दर्शन
पौराणिक तथ्यअनुसार श्रीकृष्णले पशुपतिनाथको दर्शन गरेका थिए भनिन्छ । महाभारतको युद्ध समापनपछि श्रीकृष्ण द्वारका गएर बसे । गोकुल र मथुरा छाडे । वर्णाश्रमअनुसार वानप्रस्थी बनेपछि विभिन्न तीर्थको भ्रमण गर्ने क्रममा श्रीकृष्ण पशुपतिनाथको पनि दर्शनमा आएको पर्याप्त आधारहरू पाइन्छन् ।











Discussion about this post