झापा : झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा मङ्गलबार बिहान एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवका अनुसार हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको छ ।
स्थानीयवासीले धानखेतमा वयस्क दाह्रे हात्ती मरेको देखेर प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए। हात्तीको मृत्युको स्पष्ट कारण भने अझै खुल्न नसकेको यादवले बताएका छन् ।
मेचीनगरका वडा नम्बर २, ३, ४ र ५ मा लामो समयदेखि जङ्गली हात्तीले मानवीय क्षति गर्नुका साथै किसानको खेतीबालीमा ठूलो नोक्सानी पुर्याउँदै आएको छ ।
झापामा मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जङ्गली हात्ती चरणका लागि आउने गरेका छन्। यसबाहेक स्थानीय जङ्गलमै बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरूमा बढेको छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो १६ वर्षमा झापाका विभिन्न क्षेत्रमा २८ वटा जङ्गली हात्ती मृत भेटिएका छन् ।














Discussion about this post