सुनसरीको झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आएका छन् ।
छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उनी मह बेचेरै वार्षिक तीनदेखि चार लाखसम्मको आम्दानी गर्छन् । “बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् ।
श्रीमतीलाई घरको काम ठिक्क हुन्छ”, उनले भने, “हामी बर्सेनी यसैगरी मह निकाल्ने र बिक्री गर्दै गाउँगाउँ पुग्ने गरेका छौँ । अरु आम्दानीको कुनै बाटो हामीसँग छैन ।”
कैलालीको जोशीपुर, लम्की, भजनी, बर्दियाको राजापुरलगायत क्षेत्रमा भिरमाहुरीको मह काढ्दै नीरज टीकापुर पगेका छन् । उनी मात्र नभइ उनको समूहमा १२ जना छन् ।
उनीहरुले साँझ बिहान मह काढ्ने र दिउँसो त्यही मह बिक्रीका लागि गाउँगाउँ डुल्ने गरेका छन् । भीरमाहुरीले ठूला रुखमा, अग्लो र अप्ठ्यारो ठाउँमा घार बनाउने भएका कारण मह निकाल्न ज्यानको बाजी नै लगाउनुपर्ने रावतले बताउँछन् ।
“हाम्रो व्यवसाय नै यही मह काढ्ने हो । हामी असोजदेखि चैतसम्म मह काढ्दै, बेच्दै आएका छौँ”, उनले भने, “यहीबाट हामीले घर व्यवहार चलाएका छौँ । ज्यान जोखिममा राखेर मह काढ्ने गरेका छौँ ।” एउटा घारबाट दुईदेखि १० केजीसम्म मह उत्पादन हुने गरेको नीरज बताउँछन् ।
“हामी माहुरीको शुद्ध मह उत्पादन गरी गाउँगाउँमा गएर बिक्री गर्ने गरेका छौँ”, उनले भने, “प्रतिकेजी ७०० देखि ९०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”
राससको सहयोगमा













Discussion about this post