इनरुवा : सुनसरीको इनरुवाका मेयर राजन मेहता उपर कालो मोसो दली जन कार्वाही गर्न उक्साउन खोजेको भन्दै नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिले दिलिपचन साह उपर कार्वाहीको माग गरेको छ ।
सामाजिक सञ्जाल मार्फत मेयर लक्षित अपमानजनक शब्द सहितको भडकाउ अभिव्यक्ति दिई सर्वसाधारणलाई उक्साउन खोजेको भन्दै कांग्रेस नगर कार्य समितिले सुनसरी प्रशासन समक्ष साहलाई पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरेको हो ।
नगर कार्यसमितिले विज्ञप्ति मार्फत साहले सामाजिक सञ्जाल मार्फत नगर प्रमुख मेहता उपर जन कार्वाहीका नाममा सार्वजनिक अभिव्यक्तिको प्रतिकारमा उत्रने सम्मको चेतावनी दिएको छ ।
विज्ञप्तिमा नगर प्रमुखलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउने जस्ता अपशब्द प्रयोग गरी भौतिक कार्वाही गर्ने धम्कीयुक्त सार्वजनिक अभिव्यक्ति दिइएको प्रति नगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अभिव्यक्ति स्वतन्त्रताका नाममा साहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै सार्वजनिक रुपमा अपमानजनक र भडकाउ अभिव्यक्ति दिएको ठहर गरेको इनरुवा नगर कांग्रेसले सार्वजनिक पद धारण गरेको व्यक्ति उपर साहको अभिव्यक्तिलाई आपत्तिजनक र आपराधिक प्रवृतिको संज्ञा दिएको छ ।
सचिव राकेश निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “नेपाली कांग्रेस वाक स्वतन्त्रताको सम्मान गर्ने दल भएपनि आपराधिक चरित्रका हरेक व्यक्तिको सशक्त प्रतिरोध र प्रतिकार गर्न सक्षम छ । तसर्थः आगामी दिनमा यस्ता आपराधिक चरित्रका व्यक्ति लक्षित हुनसक्ने कार्वाही प्रति सजग रहन चेतावनी समेत दिन चाहन्छौं ।”












Discussion about this post