झापा : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुंगिने बताएका छन् ।
उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताएका हुन् ।
आइतबार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै प्रदेशको नामकरण सम्पन्न भएपनि प्रदेश १ को नामकरण नटुंगिएको उल्लेख गर्दै सबै दलसँग छलफल गरी नामकरण गरिने बताए ।
उनले प्रदेश संरचनाका विषयमा हुने टिप्पणीप्रति सजग रहेको उल्लेख गर्दै भने,’हामीले प्रदेशको औचित्य पुष्टि गर्ने छौँ, जनतालाई प्रत्याभूत हुने किसिमबाट काम अघि बढाउने छौँ ।’
उनका अनुसार प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर नौ पुर्याएको हो। मुख्यमन्त्री कार्की थप अधिकार प्रत्यायोजन भएर नआएसम्म मन्त्रालयको सङ्ख्या नबढ्ने उल्लेख गरे ।
उनले प्रदेशमा भएका सबै जातिको मौलिकता संरक्षणका लागि प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण गर्ने सोचमा रहेको पनि बताए ।














Discussion about this post