इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन शनिबार छ । शुक्रबार (आज) सम्म उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुगेर मत मागेका छन् ।
उवासंघको अध्यक्षका लागि यसपटक दुई महिलासहित ४ जनाबीच प्रतिष्पर्धा हुँदैछ । अघिल्ला निर्वाचनहरूमा पार्टीगत प्रतिष्पर्धाकै रूपमा चुनाव भएपनि यसपटक भने त्यसो देखिदैँन ।
व्यवसायिक संस्थामा राजनीतिकरण हुन नहुने भन्दै दलहरूले नै अहिले आलोचना समेत गर्दै आएका छन् । यद्यपि, विभिन्न ६ दलहरूले अध्यक्षका उम्मेदवार जीवन पराजुलीलाई सघाउने भएका छन् ।
यसअघि नेपाली कांग्रेस इटहरी नगर समितिले व्यक्ति नै तोकेर मत मागेसँगै रुष्ट बनेका दलहरूले पराजुलीलाई साथ दिएका हुन् ।
कांग्रेसकै अर्को समूह र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र व्यवसायी समूहले पराजुलीलाई साथ दिएका हुन् ।
संयुक्त रूपमा एक विज्ञप्ति नै जारी गरेर उनीहरूले पराजुलीको समूहलाई साथ दिने जनाएको छ ।
यसैबीच अध्यक्षकै उम्मेदवार पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पराजुलीको समूहलाई सघाउने उद्घोष गरेसँगै पराजुलीलाई ढाडस मिलेको छ ।
पोखरेलले यसअघि अध्यक्षमा उम्मेदवार दिएका थिए । तर, पछिल्लो समय उनले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पराजुलीको समूहलाई समर्थन गरेका हुन् ।
६ दलको साथ र पोखरेलको समर्थनले आँफू चुनाव जित्ने विश्वासमा रहेको पराजुलीले बताए । उवासंघ इटहरीमा करीब ५ हजार मतदाता रहेका छन् ।












Discussion about this post