विराटनगर : प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरिएको छ ।
‘कोसी’ नाम खारेज गर्दै पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधरको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढाउने सहमति भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार सुरक्षा अधिकारी, आन्दोलनरत पक्षका प्रतिनिधि एवं सरोकारवालाबीच भएको छलफलले शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार शान्तिपूर्ण कार्यक्रमहरू सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने तथा आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधरलाई छाड्ने सहमति भएको छ ।
सहमतिपछि प्रहरी नियन्त्रणमा रहेका पहिचान पक्षधर २६ जना छुटेका छन् ।
आन्दोलनमा उत्रिएका ८६ जना पहिचान पक्षधरलाई प्रहरीले गत आइतबार नियन्त्रणमा लिएको थियो । तीमध्ये तोडफोड, आक्रमण र हुलहुज्जतमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउने तयारी थियो । ६० जनालाई सोमबारै छाडिएको थियो ।
प्रदेश सरकारले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । नामप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरहरू आन्दोलित बन्दै आएका छन् ।














Discussion about this post