इटहरी : नेपाली साहित्यका आदिकवि तथा मुक्तक विधाका प्रवर्तक मोतीराम भट्टको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’ कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, कोसी प्रदेशको आयोजनामा आइतबार दुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिष्ठानकी अध्यक्ष मिश्रा गुरुङको अध्यक्षता तथा प्राज्ञ तथा विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मुक्तककार बाबुराम पोखरेल र कोसी प्रदेश सभा सदस्य मीना श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए । कवि मनु मञ्जिल मुख्य श्रोताका रूपमा उपस्थित थिए ।
कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका संरक्षक सदस्य जीपी तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसपछि प्रतिष्ठानका सदस्य तथा साहित्यकार निरज कोइरालाले मोतीराम भट्टको साहित्यिक व्यक्तित्व, योगदान र नेपाली साहित्यमा उनले पुर्याएको योगदानबारे परिचर्चा गरेका थिए ।
कार्यक्रममा १९ जना मुक्तककारले तीन–तीन वटा मुक्तक वाचन गरेका थिए । मुक्तक वाचनमार्फत स्रष्टाहरूले आआफ्ना सिर्जना प्रस्तुत गर्नुका साथै नेपाली साहित्यमा मोतीराम भट्टको योगदानको स्मरण गरे । कार्यक्रममा समकालीन नेपाली मुक्तकको अवस्था, विकास र सम्भावनाबारे समेत साहित्यिक विमर्श भएको थियो ।
कार्यक्रममा अच्युत भट्टराई, अविराम क्रान्ति, एकराज भट्टराई, कविता केशरी, किरण टी लिम्बु, दिलिप राई सागर, नवराज नवशिला, परिक्रमा श्रेष्ठ, भरत बर्बरिक, मदन भण्डारी, मुना आत्रेय, युवराज ठकुरी, राज आशातीत, राधा भट्टराई, राधा सुवेदी, रोमु अधिकारी, विनोद विवश घिमिरे, सुविद गुरागाईं र हरि कट्टेल गरी २० जना मुक्तककारले तीन–तीन वटा मुक्तक वाचन गरेका थिए ।
मुक्तक वाचनमा सहभागी सबै १९ जना मुक्तककारलाई सगरमाथा साहित्य प्रतिष्ठान, कोसी प्रदेशले ‘मोती मुक्तक मिलन’ अंकित मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो ।
कार्यक्रमले मुक्तककार तथा साहित्यप्रेमीबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै नेपाली मुक्तक विधाको संरक्षण, प्रवर्द्धन र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका सचिव अभिमन्यु अभिजितले सहजीकरण गरेको कार्यक्रम साहित्यिक स्रष्टा तथा साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न भएको थियो ।

















Discussion about this post