उदयपुर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका दुई आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । उनले यसका लागि प्रदेश सरकारले आवश्यक स्रोतसाधन र बजेटको व्यवस्थापन गर्ने जानकारी दिए ।
आइतबार बिहान उदयपुरको गाईघाटमा नेपाल नेत्र ज्योति संघ उदयपुर जिल्ला शाखाद्वारा आयोजित स्मृति वृक्षारोपण अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनका अनुसार कोशी प्रदेशमा एक हजारभन्दा बढी व्यक्तिले आँखा दानबाट दृष्टि प्राप्त गर्न सक्ने अभिलेख रहेको छ । उनले मृत्यु भएपछि गरिने आँखा दानले दृष्टिविहीन व्यक्तिलाई संसार देख्न सहयोग पुग्ने भएकाले सबैलाई मृत्युपर्यन्त आँखा दान गर्न आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले मेची आँखा अस्पताल र विराटनगर आँखा अस्पतालमा आँखा प्रत्यारोपण सेवा सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए ।
प्रदेशका स्वास्थ्य सचिव तथा आँखा विशेषज्ञ चिकित्सकहरूसँगको बैठकमा आँखा दान गर्ने र सेवा लिने दुवैको संख्या बढाउन तथा मृत्युपछि प्राप्त आँखाको नानी अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने कार्यक्रमलाई छिटो अघि बढाउन उनले आग्रह गरेको जानकारी दिए ।
त्यस्तै, उदयपुरको मदन भण्डारी आँखा अस्पतालमा सेवा विस्तारका लागि पनि प्रदेश सरकारले आवश्यक स्रोतसाधन तथा बजेटको सहयोग उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले बताए ।
नेपाल नेत्र ज्योति संघ उदयपुर शाखाका अध्यक्ष भगवत राउतको अध्यक्षतामा भएको कार्यक्रममा उनले मदन भण्डारी आँखा अस्पतालले हालसम्म तीन लाख ५५ हजारभन्दा बढीलाई सेवा दिएको र १२ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको जानकारी दिए ।

















Discussion about this post