इटहरी : आगलागीलगायत विपद्का घटनामा हुने जनधनको क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारलाई प्रभावकारी बनाउन सुनसरीमा सुरक्षा निकायको संयुक्त नमुना अभ्यास गरिएको छ ।
नेपाली सेना श्री भगवतीदल गणको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा शुक्रबार धरान उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्र परिसरमा आगलागी नियन्त्रण तथा उद्धारसम्बन्धी अभ्यास गरिएको हो ।
अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, धरान उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीको संयुक्त टोलीले आगलागी नियन्त्रण, बारुणयन्त्रको प्रयोग, घाइतेको उद्धार तथा प्राथमिक उपचारको व्यावहारिक प्रदर्शन गरेको श्री भगवतीदल गणका गणपति देवराज भट्टले जानकारी दिए ।
खासगरी सुख्खायाम तथा चाडपर्वका समयमा विद्युत् सर्ट, ग्यास चुहावट, मानवीय लापरवाही र औद्योगिक दुर्घटनाका कारण आगलागीको जोखिम बढ्ने भएकाले सम्भावित क्षति न्यूनीकरण र आपत्कालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको भट्टले बताए ।
अभ्यासअघि सम्भावित आगलागी तथा अन्य विपद्का घटनामा सूचना प्रवाह, अन्तरनिकाय समन्वय, निर्णय प्रक्रिया, स्रोतसाधनको पहिचान तथा परिचालन, उद्धार र राहत व्यवस्थापन, घाइतेको उपचार, सुरक्षा व्यवस्थापन तथा जनचेतना अभिवृद्धिलगायतका विषयमा छलफलसमेत गरिएको थियो ।
यस्ता अभ्यासले विपद्का समयमा सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य सुदृढ गर्दै आपत्कालीन तयारी तथा प्रतिकार्य संयन्त्रलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गणपति उनले बताए ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आगलागीलगायत विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नागरिकमा सचेतना र पूर्वतयारी आवश्यक रहेको बताए ।
आगलागीको जोखिमबारे सचेत रहन र सम्भावित घटनाको सामना गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिँदै आगलागी भइहालेमा तत्काल नियन्त्रण, क्षति न्यूनीकरण, घाइतेको उद्धार र उपचार गर्ने तरिकाबारे जानकारी दिन यस्ता अभ्यास उपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख पुष्पराज मल्ल, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरका प्रमुख लबकुमार सापकोटा, राष्ट्रिय अनुसन्धानका निर्देशक विमल घिमिरे, धरान औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बन्जाडेलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

















Discussion about this post