मेरा मित्र बढे घटे म कसरी बोलौँ यहाँ शानले
मेरो कष्ट बुझेर साथ नदिने खोलाैँ सबै ज्ञानले
साथीको भरमा रहेन मन यो बैरीसरी साथ छ
आफ्नै पौरखमा रमाउन सकूँ अर्को जुनी लाख छ ।
धेरै छन् मनका कथा नबुझिने बुझ्ने हरू हो सुन
अर्काको मनमा बसेर रमने यो जिन्दगीमा गुन
प्यारो बन्न सकिन्न आज सहजै आत्मा पखाली बस
विश्वासी नबने निखार अब ता चाँडै खरानी घस ।
मान्छेका भिडमा रमाउन तिमी जान्दै नजान्ने भयौ
दोषी छौ जनको विकार सुरुको बोक्सी र झाँक्री भयौ
आफ्नै देश जलाउने लहडमा खोक्रो बनेको घर
भर्छौ के नभमा तिमी मुलुकको खै छैन तिम्रो भर ।
बोलीको भर छैन काम सबको छैनन् भरोसा पनि
रैती होइन देशको सगर हो घुम्छौ र राजा बनी ?
तिम्रा सैनिकले समाज बिचमा आतङ्क मच्चाउने
तिम्रा नाटक मञ्चनी मुलुकमा के के छ सच्याउने ।
साझा काम भनेर एकल हुने बेकार सल्लाह छ
स्वार्थीको छ जमात साथ ठगको हत्या र जल्लाद छ
आफ्नो छैन नयाँ कुनै विषय नै ल्यायौ पुराना कुरा
गुन्यूँ फेर चुरासँगै अब तिमी नाच्दै पिलाऊ सुरा ।
आत्मामा छ विकारका कणहरू फालेर आऊ अब
मान्छे बन्न सकिन्न आज यसरी खै कर्म तिम्रो नव
खोक्रो भो सपना सबै उडिसके गर्छौ बहाना जब
ढाँटेको फल त्यो फलेन जगमा रोपेर मिथ्या सब ।
वैरीझैँ जनको भएर जहिले बस्छौ तिमी के गरी ?
पाएको अधिकार खोस्न किन हो ? लाग्छौ तिमी आखिरी
सत्ताको बलमा छ शोषण यहाँ नाङ्गो बनेछौ अति
छोप्दैनौँ किन लाज नाकमुख त्यो यो देश खान्छौ कति ?












Discussion about this post