म नढलूँ !
जब म हारेको हुन्छु,
जराहरू अझ गहिरो बनाऊँ—
झरेका पातहरूलाई माटो हुन दिऊँ,
त्यही हारकै मलबाट
फेरि नयाँ सपना उमार्न सकूँ।
म नभागूँ !
जब समय मेरो विरुद्ध हुन्छ,
बरु चुपचाप उभिइरहूँ—
आँधीले सबै उडाए पनि
कहिल्यै नडगमगाउने
त्यो पहाडझैँ अटल बनूँ।
म नटुटूँ !
जब आकाशले
मेरो छानोमाथि
सबै विपत्तिहरू खसाल्छ—
मभित्रको एउटा सानो दीप
अझै निभ्न नदिऊँ,
जसको क्षीण उज्यालो समातेर
भत्किएका रातहरू पार गरूँ,
र उज्यालो हुन बाँकी
एउटा बिहानसम्म पुगूँ ।
म नरोऊँ!
जब आँखाभरि बादल हुन्छ,
चेतनाको धरतीमा
ती आँसुहरू बर्साउन सकूँ—
जहाँ वर्षौँदेखि निदाएको कुनै बीउ
खडेरीको चिरा चिरेर जागोस्,
र त्यही चिराबाट
फेरि अर्को नयाँ
‘म’ जन्माउन सकूँ।
मलाई सधैँ जित्नु छैन
बस्,
सबैले छोडेको दिन पनि
म आफैँलाई नछोडूँ ।
म आफैंमा उभिऊँ ।
र,
जीवनले जति नै हराओस्,
म आफैँसँग नहारूँ !
पदमबहादुर गाैतमकाे अर्काे याे पनि कविता : प्रकृतिको ताण्डव (कविता)















Discussion about this post