पहिरिएर काँचको मुस्कान
भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती
संसारले उभ्याएको अग्लो पर्खालभित्र !
अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर
हिँडिरहेछ एउटा मान्छे—
जसलाई यो संसारले
‘पुरुष’ नाम दिएको छ।
छातीभित्र पग्लिरहेको सिसा बोकेर
उभिएको छ ऊ,
आफ्नै स्तब्धताको अग्लो टापुमा।
उसका लागि रुने ठाउँ
यो सहरको कुनै नक्सामा छैन !
ऊ आकाशतिर हेर्छ—
जहाँ विशाल नीलो शून्य छ।
ओ आकाश !
तिमी त असीम छौ,
मेरो यो निसास्सिएको चीत्कारलाई
तिम्रो बादलको कुनाभित्र
अलिकति ठाउँ देऊ न !
मलाई एकैछिन नीलो हुन देऊ !
ऊ पहाडको मौनतालाई स्पर्श गर्छ—
जहाँ कडा चट्टानहरूभित्र
रहस्यमय पहिरो लुकेको छ।
ओ पहाड!
तिमी र म त एउटै रहेछौँ,
बाहिरबाट अटल
भित्रभित्रै चर्किएका!
मलाई बलियो हुने अभिनयबाट
एकैछिन भए पनि फुर्सद देऊ न,
तिम्रै फेदीमा ढलेर रुने एउटा गुफा देऊ न !
ऊ अदृश्य हावासँग कानेखुसी गर्छ—
ओ हावा !
तिमी त स्पर्श हौ,
तिमी त मर्म हौ।
मेरो यो तातो सुस्केरालाई
तिम्रै वेगमा उडाएर लैजाऊ न
कसैले नसुन्ने गरी मेरो पीडा सुनिदेऊ न !
ऊ पानीको प्रवाहमा
आफ्ना औँलाहरू डुबाउँछ—
ओ पानी !
तिमीसँग त आफ्नै बहाव छ,
आफ्नै आँसु छ।
मेरो परेलाका डिलमा थुनिएका
यी नदीहरूलाई
तिम्रै छातीमा मिसाएर
समुद्रसम्म पुर्याइदेऊ न
अनि…
जब सहर सुत्छ,
ऊ रातको अँध्यारो ओढेर बस्छ—
ओ रात!
तिमी त अन्तिम साँचो चौतारी हौ,
जहाँ उज्यालोको कुनै
मुखौटा लगाउनु पर्दैन।
तिम्रो कालो घुम्टोभित्र
मेरो पुरुषत्वलाई एकैछिन निदाउन देऊ,
मलाई मान्छे भएर रुने…
अलिकति अँध्यारो ठाउँ देऊ न!
रातको कालो घुम्टोभित्र
फुकालेर पुरुषत्वको भारी,
अँध्यारोको अँगालोमा पग्लिन्छ ऊ
निःशब्द बनेर—
जहाँ मुखौटा हराउँछ र
रुन्छ एउटा मान्छे !

















Discussion about this post