धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ सम्बन्धी भइरहेका कार्यहरु र गर्नुपर्ने सुधारको बारेमा प्रतिष्ठानको पधिकारीहरुसँग छलफल भएको छ ।
धरानमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको कारण मेयर राईको नेतृत्वमा धरानमा र प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा भइरहेको विषयमा मङ्गलबार छलफल गरेको हो । छलफलमा इलाका प्रहरी धरानका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, प्रतिष्ठानका उपकुलपति, अस्पताल निर्देशक र रेक्टरको उपस्थिति रहेको थियो । कोभिड अस्पतालको बारेमा व्यापक रुपमा जनगुनासो आएपछि यसको समस्या समाधान गर्नका लागि मेयरको नेतृत्वमा छलफल बसेको हो ।
कोभिडलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय सरकार, केन्द्रीय सरकार, प्रदेश सरकार, राजनीतिक दल र नागरिक सबै लाग्नुपर्ने छलफलमा आवाज उठेको थियो ।
छलफलमा उपस्थित व्यक्तिहरुले अस्पतालमा बेड संख्या वुद्धि गर्ने कुरामा, कर्मचारी नियुक्ति गर्नुपर्ने कुरामा अस्पतालले पूर्वतयारी गर्नुपर्ने सुझाव दिएका छन् । तत्काल कोभिडको लागि आवश्यक पूर्वाधारहरु व्यवस्थापन गर्न सक्यो भने केही मात्रामा रोकथाम तथा नियन्त्रण गर्न सकिने जनाए । प्रतिष्ठानले अस्पतालमा भएका समस्याहरुको बारेमा स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक रहेको राजनितिक दलका प्रतिनिधिहरुले औँल्याए ।
कोभिड अस्पताल एक सय बेड क्षमताको रहेको छ । अस्पताल राम्रोसँग सञ्चालन नभएको गुनासो आएकाले पदाधिकारीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएका छन् । साथै संक्रमित विरामीको उपचार तथा हेरचाहमा पनि ध्यान दिन आग्रह गरेका छन् ।
कोभिड अस्पताल र नन कोभिड अस्पताल पनि चलाइरहेको बताउँदै प्रतिष्ठानको लागि यो ठूलो चुनौति रहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहले बताए । कोभिड अस्पतालमा हाल २४ वटा भेन्टिलेटर रहेको छलफलमा जानकारी दिए । प्रत्येक भेन्टिलेटरमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
बिरामीको बारेमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने दुई–तीन जना फोकल पर्शन अस्पतालमा राख्ने प्रतिष्ठानका अस्पताल निर्देशक शाहले जानकारी दिए ।
















Discussion about this post