धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र रहेको कोभिड अस्पतालमा बिरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ ।
धरान उपमहानगरपालिकाको मेयर तिलक राईको अगुवाईमा कोभिड अस्पतालमा रहेका बिरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिने भएको हो । कोभिड अस्पतालमा बिरामी कुरुवा घर नभएको कारण बिरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए ।
पोख्रेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा क्रियाशील रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी बिरामी कुरुवा घर १८ फिट चौडाई र ८० फिट लम्बाईको हल, शौचालय र स्नान कोठासहितको सुविधा सम्पन्न हुनेछ ।
मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवालका अनुसार कुरुवा घर निर्माणका लागि इन्जिनियरले स्टिमेट तयार पारेसँगै भवन निर्माण सुरु गरिने छ । उनले भने, ‘बिरामी कुरुवा घर यहाँ पहिला नै निर्माण गर्नुपथ्र्यो, हामी ढिला भयौं, भोलीबाट निर्माण कार्य सुरु भयो भने हप्ता दशदिनमा सकिन्छ ।’
निर्माण सम्पन्न भएपछि कोभिड संक्रमितका आफन्तका लागि कुरुवा घरले केही हदसम्म सहज वातावारण सिर्जना गर्ने उनले बताए ।












Discussion about this post