इटहरी : यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कोसी, इटहरीले घरभाडामा कमिसनको ‘सेटिङ’ नमिलेका कारण लकडाउन अवधीकै बीचमा कार्यालय सार्ने तयारी अघि सारेपछि ड्राइभिङ व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
शनिबार इटहरीमा ड्राइभिङ स्कुल संघ प्रदेश १ ले पत्रकार सम्मेलन गर्दै यातायात कार्यालय ‘सेटिङ’ मा सार्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।
संघका प्रदेश १ अध्यक्ष बाबुराम प्रधानले पटक–पटक कार्यालय सारिनु आपत्तिको विषय रहेको बताए । ‘ठूलो लगानीमा यातायात कार्यालयको आफ्नै भवन बन्दैछ, प्रदेश निर्देशनालयले गरेको निर्णयमा हाम्रो आपत्ति छ,’ प्रधानले पत्रकार सम्मेलनमा भने, ‘हाम्रो व्यवसाय नवीकरण नगरीकन व्यवसायी क्षेत्र नै धराशयी बनेको अवस्था छ ।’
यातायात कार्यालयको इटहरी १० मा आफ्नै भवन बन्दैछ । तर, पहिलै भवन खोजेर सूचना प्रकाशित गरिनुले अर्को आपत्तिको विषय रहेको उनले बताए । उनले भने, ‘आफ्नै भवन एकवर्षभित्र बनिसक्ने सम्झौता छ, अहिले आएर बर्खा लाग्यो भनेर ठेकेदारले पन्छिन मिल्दैन, ठेकेदारलाई बर्खा आउँछ भन्ने थाहा हुँदैन, सबैतिर चलखेल नै छ ।’
अहिले ठेकेदारले कार्यालयको भवन बन्न समय लाग्ने भन्दै पन्छिने गरेकाले मन्त्रालयदेखि ठेकेदारसम्म नै आर्थिक चलखेल हुनसक्ने उनको दाबी छ ।
यातायात कार्यालयका क्षेत्रीय निर्देशक भीम गौतम र कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटा तथा अन्य कर्मचारीको समेत संलग्नतामा मनखुशी काम भएको व्यवसायीहरुको ठम्याईँ छ ।
यातायात कार्यालयले ६ लेन सडक विस्तारको क्रममा बाधा हुने भएकाले पार्किङको ठाउँ समेत नरहेको उल्लेख गरेपनि तत्काल अन्यत्र कार्यालय सार्नुपर्ने आवश्यकता नरहेको संघका सुनसरी–मोरङ अध्यक्ष शिव श्रेष्ठले बताए ।
‘कार्यालयको आफ्नै भवन बनिरहेको समयमा इटहरी ८ मा सूचना प्रकाशित गर्नु अगावै भवन खोजेर यातायात सार्न खोजिएको छ,’ श्रेष्ठले भने, ‘भवनको नक्सा पास समेत छैन, केही सीमित व्यक्तिहरुले आँफूखुशी गरेर हुँदैन ।’
कार्यालयले हनुमान कन्ट्रक्सनसँग ०७८ पौष मसान्तसम्ममा आफ्नै भवन सक्नेगरी सम्झौता समेत गरेको थियो । तर, हाल त्यो अवधीमा काम नसकिने भन्दै ठेकेदार स्वयम् पन्छिने गरेको व्यवसायीहरुले बताएका छन् ।
कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात व्यवस्था विभागले लकडाउनका बीच नै सम्झौता नसकिदैँ कार्यालय सार्ने सूचना प्रकाशित गरेको र त्यस सन्र्दभमा यसअघि समाचार प्रकाशित भएपछि व्यवसायीहरुले प्रदेश १ सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री अमिरबाबु गुरुङसहित जिल्ला प्रशासन सुनसरी र अख्तियार इटहरीमा उजुरी उजुरी गरेका थिए ।
कार्यालयले सूचना अगावै घर खोजेर कार्यालय सार्ने तयारी पूरा गरेपछि जेठ ११ गते घरभाडासम्बन्धी सूचना जारी गरेको थियो ।
यता, यातायात व्यवस्था विभागले भने हाल कार्यालय रहेको क्षेत्रमा दुर्घटना भएको, ६ लेन सडकले पत्र काटेको तथा कार्यालयको भवन बनाउने जिम्मा लिएको हनुमान कन्ट्रक्सनले ०७८ पौष मसान्तसम्ममा भवन निर्माण गरिनसक्ने भन्दै विवरण उपलब्ध गराएका छन् ।
विवरणको मिति अनुसार हनुमान कन्ट्रक्सनले जेठ ३० गते, १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयले जेठ ३० गते र रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक योजनाले जेठ २७ गतेको मितिमा यातायात कार्यालयलाई पत्र काटेका छन् ।
सूचना प्रकाशित भएको झण्डै २० दिनपछि मात्रै यसरी पत्र काटिनुले त्यहीँ पनि शंका उत्पन्न हुने यातायातकै एक कर्मचारीले बताए । ठूलो ‘सेटिङ’ मा कार्यालय सारिन लागेको उनको भनाइ थियो ।
यातायात कार्यालयको आलोचना हुन थालेपछि यातायातकै कर्मचारीहरुले माथि उल्लेखित पत्र लेख्न लगाइएको स्रोतको दाबी छ ।
यो पनि – यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारसहित मन्त्रीलाई उजुरी (पत्रसहित)
यो पनि – कमिसनको ‘सेटिङ’ नमिल्दा यातायात कार्यालय सार्ने तयारी
Discussion about this post