इटहरी : प्रदेश १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रदेश १ सरकारको विषयमा रामचन्द्र पौडेल र कोइराला पक्ष चुप भएको बताएका छन् ।
शनिबार नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै सुनसरी कांग्रेसका सभापति समेत रहेका उनले प्रदेश १ सरकारको विषयमा पौडेल–कोइराला पक्ष चुप भएको बताएका हुन् ।
‘मैले कहिल्यै पनि कुनै मञ्चबाट केन्द्रीय नेतालाई गाली गरेको छैन,’ उनले भने, ‘हामी कतिवटा गुटमा छौँ भन्ने प्रष्ट थाहा छ, यो बेला पौडेल र कोइराला गुटको चैँ टन्सिल बढेको छ, पार्टीको विषयमा उहाँहरुलाई चिन्ता हुनुपर्दैन ?’ उनले प्रदेश सरकार निर्माण गर्ने क्रममा कांग्रेसको मुद्वाका विषयमा पौडेल र कोइराला पक्ष चुप रहेको आशय व्यक्त गरे ।
उनले प्रदेश १ मा ९३ सांसद रहेपनि दिनानुदिन पार्टी बढ्दै गएकाले आज देशमा कम्युनिष्टका कारण राजनीतिक अस्थिरता सृजना भएको बताए । ‘नेपाली जनताले कम्युनिष्टलाई बहुमत दिएपनि आज कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बाध्यात्मक स्थिति भएको छ,’ उनले भने, ‘आज संविधान बनाउनेहरूलाई नै कांग्रेसले संविधान सिकाउनुपरेको छ ।’
उनले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई अहिले आफूहरूले संविधानको धारा सिकाउनुपर्ने दिन आएकाले एमाले बिनै पनि प्रदेश १ मा आफूहरुको बहुुमत पुग्ने दाबी गरे । उनका अनुसार कांग्रेसको २१, माओबादी केन्द्रको १६, जसपाका ३, राप्रपाका १ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्र्तगत मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का १ जना सांसद छन् ।
वर्तमान मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ । ती मध्ये नेकपा एकीकृत समाजबादीका सांसदले पनि कांग्रेससँगै गठबन्धन गर्ने भएकाले आफूहरुको बहुमत पुग्ने उनको दाबी छ । ‘अहिले पनि प्रदेशमा एमालेकै सरकार छ तर बहुमत पुग्छ कि पुग्दैन,’ उनले भने, ‘प्रदेश सरकार कसले बनाउने भन्ने विषय गठबन्धनको विषय हो ।’ एमाले बिना नै पनि आफूहरूको बहुमत पुग्ने कोइरालाले दाबी गरे ।
कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सिताराम मेहताले पार्टीका निम्ति अहोरात्र खट्नेहरूलाई नै आज कांग्रेसले समेट्न नसकेकाले सबैलाई समेटेर लैजानुपर्ने बताए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नगेन्द्र चौधरीले पार्टी एकजुट हुनुपर्ने बताए । पार्टीमा निरन्तर लागेका मानिसहरूको मूल्यांकन हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका उपमहासचिव ज्योति कोइराला, नेपाल महिला संघ सुनसरीकी अध्यक्ष विजया कटवाल, कांग्रेस सुनसरी सचिवद्वय केदार भण्डारी, सुजेन्द्र तामाङ, कांग्रेस सुनसरी क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पौडेल, धरान सभापति श्याम पोखरेल, नेविसंघ पूर्व केन्द्रीय उपसभापति तथा कोभिड अनुगमन समिति सुनसरी संयोजक विकास केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला, युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले पार्टीभित्रका तीक्तताहरूलाई मेट्दै जानूपर्नेमा जोड दिए । युनियन सुनसरी उपाध्यक्ष सञ्जीव वाग्लेले संयोजन गरेको कार्यक्रम सचिव विवेक भट्टराईले सञ्चालन गरेका थिए ।
Discussion about this post