धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले किराँत समुदायको महान पर्व उधौली, नेवार समुदायको पर्व योमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।
शनिबार एक सन्देश जारी गर्दै मेयर राईले प्रकृतिपुजक किराँत समुदायको महान पर्व उधौली (राई जातिको साकेला, लिम्बु जातिको चासोक तङ्नाम, सुनुवार जातिको स्याँदर, याक्खा जातिको चासुवा), संस्कार र संस्कृतिले सम्पन्न नेवार समुदायको पर्व योमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना व्यक्त गरेका छन् ।
मेयर राईले धरान विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको बसोबास रहेको सुन्दर नगरी रहेको जनाउँदै मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीच आपसी सद्भाव सुमधुर बनाउने बताए ।
किरात समुदायको महान पर्व उधौली, धान्य पूर्णिमा तथा नेवार समुदायको पर्व योमरी पुन्हिले सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरि स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडी बढ्न मेयर राईले आग्रह गरेका छन् ।
साथै, मेयर राईले अझै पनि कोरोना महामारीको संक्रमणको जोखिमबाट मुक्त भई नसकेको शुभकामना सन्देशमार्फत जनाए ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखा पर्न थालेकोे बताउँदै मेयर राईले स्वास्थ्य सुरक्षाका आवश्यक उपायहरु अवलम्बन गर्दै पर्व मनाउने तर्फ सचेत र सजग रहन पनि आग्रह गरेका छन् ।












Discussion about this post