धरान : नेपालको नम्बर वान प्रोफेसनल गल्फर शुक्रबहादुर राई टाटा स्टील प्रोफेसनल गल्फ टुर खेल्न भारत प्रस्थान गरेको छ ।
उनलाई आज (मंगलबार) धरान उपमहानगरपालिकाका मेयर एंव गल्फ एशोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक राई, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) र नेपाली कांग्रेस धरानका सचिव हिमाल श्रेष्ठले खादा लगाएर जीतको शुभकामनासहित बिदाई गरेका छन् ।
उनलाई मेयर राईले व्यक्तिगत रूपमा भारु एक हजार र नेपाली १० हजार रुपैँयाको चेक हस्तान्तरण गरे । मेयर राईले धरानको उत्पादन शुक्र नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी भएकोले सम्पुर्ण धरानेहरूले गौरव गर्नुपर्ने भन्दै खेल क्षेत्रमा सफलताको शुभकामना दिए ।
उनले भने, ‘शुक्रबहादुर राई नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी हो, हाम्रो धरानको उत्पादन हो । धराने गल्फरहरूको उसमा धेरै ठूलो लगानी छ ।’
शुक्रले भर्खरै धरानमा सम्पन्न सूर्य नेपाल इष्र्टन ओपन र काठमाडौंको सेन्टर ओपन पनि जितेका थिए ।
भारतको गुजरातस्थित अहमदावादमा टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २०२२ क्वालिफाइ स्कुल आयोजना हुदैछ ।
फेबु्रअरी १० तारिख रजिष्ट्रेशन हुनेछ भने ११ र १२ तारिख प्रि क्वालिफाई हुनेछ । यस्तै, १४ मा पुनः रजिष्ट्रेशन भएर १५ र १६ मा भएको खेलमा कट जोगाउन सक्नेहरु १७ र १८ गते फाइनल खेल्न पाउँछन् ।
शुक्रका अनुसार प्री क्वालिफाइमा करिब एक सय २० खेलाडीहरू सहभागी हुनेछन् ।ती मध्ये प्री क्वालिफाईबाट ८० जना छनौट हुनेछन् ।
त्यसमध्ये पनि ४०/५० जना मात्र फाइनलको लागि छनौट भएर फुल कार्ड पाउँछन् । फूल कार्ड पाउने खेलाडीले भारतमा हुने सबै प्रोफेस्नल गल्फ प्रतियोगिता खेल्न पाउने उनले बताए ।
Discussion about this post