झापा : झापाको अर्जुनधारा नगरपालिका ३, खुदुनाबारीबाट प्रहरीले हात्तीको दाह्रा बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भइ खुदुनाबारी बस्दै आएका २५ वर्षीय रमेश राई रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हात्तीको दाह्रासहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनाउपर अनुसन्धान गर्दै जाँदा सोही घटनामा संलग्न रही फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा बिहीबार (आज) पक्राउ गरिएको हो ।
फागुन २७ गते १५.६८ किलो तौल भएको हात्तीको दाह्रासहित झापाकै भद्रपुर नगरपालिका ७ बस्ने ५८ वर्षीय भीमकुमार भनिने भक्तिकुमार लिम्बू, वडा ७ चन्द्रगढी बस्ने ४२ वर्षीय अशोक कार्की र पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल बस्ने ४३ वर्षीय रमेश सुवेदी रङ्गेहात पक्राउ परेका थिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post