इटहरी : प्रदेश नम्बर १ र सुदूरपश्चिम इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै समूह बिजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
जनता क्रिकेट पार्क मैदानमा मंगलबार भएको पहिलो खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको सहज जीत निकाल्दै प्रदेश–१ समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा सुदूरपश्चिमले एपीएफमाथि ४ विकेटको जीत दर्ता गर्यो ।
लगातार तेस्रो हार ब्यहोरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबारको पहिलो खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश १ लाई ४० रनको लक्ष्य दिएको थियो । कर्णालीले दिएको
लक्ष्य प्रदेश १ ले ४ ओभर ५ बलमा बिना विकेटको क्षतिमा ४० रन जोड्दै पूरा गर्यो ।
प्रदेश १ का लागि प्लेयर अफ द म्यान समेत भएकी कप्तान रुबिना क्षेत्रीले अविजित २२ रन जोडिन् । काजल श्रेष्ठ १३ रनमा अविजित रहिन् । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ११ ओभरमा ५ विकेट गुमाएर ३९ रन जोडेको थियो ।
कर्णालीका रमा बुढाथोकीले १८ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । प्रदेश १ का ज्योति दनुवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १/१ विकेट लिइन् ।
मंगलबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल एपीएफ क्लबलाई ४ विकेटले हराउदै समूह विजेता बन्दै अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले दिएको ९२ रनको लक्ष्य सुदुरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर ९२ रन जोड्दै पूरा गर्यो ।
सुदूरका लागि डोली भट्टले सर्वाधिक ३३ रन बनाइन् । ऋतु कजोनियाले १० रन जोडिन् । एपीएफका लागि नेरी थापाले ३ विकेट हात पारिन् । त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो ।
एपीएफका लागि ममता चौधरीले अविजित रहदै सर्वाधिक २६ रन बनाउदा रोमा थापाले १५ र इन्दु वर्माले ११ रन जोडिन् । ज्योति पाण्डे १४ रनमा आउट हुदा कप्तान सीता राना मगर ४ रनमा आउट भइन् ।
सुदूरका लागि कविता जोशीले ३ तथा ऋतु कजोनियाले २ विकेट लिइन् । यस जितसँगै सुदूरले समूह ’ए’ बाट ३ खेलमा सतप्रतिशत जीत सहित ६ अंकका साथ विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
एपीएफले भने ३ खेलमा ४ अंकका साथ समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुधबार हुने पहिलो खेलमा मधेश प्रदेश र लुम्बीनीबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेलमा बागमती र गण्डकीबीच प्रतिष्पर्धा हुनेछ ।













Discussion about this post