इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ मा पर्ने तालतलैया विकास तथा संरक्षण समितिमा अनियमितता भएको देख्ने साक्षीलाई नै निलम्बन गरिएको छ ।
समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले हिनामिना गरेको देख्ने व्यक्तिलाई नै निलम्बन गरी तालतलैया समितिकै धज्जी उडाएका छन् ।
समितिका कर्मचारी कुलप्रसाद निरौलाले कार्यसमिति सदस्य खगेन्द्र आचार्यमाथि आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए ।
निरौलाले कार्यसमिति सदस्य आचार्यलाई टिकट काट्ने क्रममा रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो । तर, जसले आरोप लगाए उनै निरौलालाई नै समितिले निलम्बन गरी दोषी उम्काउन चलखेल सुरु गरेको छ ।
आचार्यले बोटिङ काउण्टरका कर्मचारी बाहिर गएको समयमा टिकट काट्ने क्रममा पर्यटकलाई टिकट नदिइ रकम हिनामिना गरेको आरोप लगाइएको थियो ।
‘जो व्यक्ति हिनामिनाको साक्षी थिए, उनैलाई निलम्बन गरिनु भनेको तालतलैया विकास तथा संरक्षण समितिकै धज्जी उडाइनुु हो,’ स्थानीय एक व्यक्तिले टाकुरासँग भने, ‘संस्थामा गलत भएको छ भनेर जसले संस्थाको हितमा कुरा उठायो, उसैलाई निकालिनुले उसको आत्मसम्मानमा चोट पुग्दैन ?’
जसले आरोप लगाए उनैलाई निकालिनुले दोषीलाई उम्काउने चलखेल भएको हुनसक्ने बुझिएको छ । आरोप लागेपछि गत सोमबार कार्यकक्षमा तालाबन्दी समेत गरिएको थियो ।
इटहरी २ का वडाध्यक्ष माधव कोइरालाको संयोजकत्वमा छानबिन समिति समेत गठन भएको छ ।
तर, छानबिन समितिले निष्पक्ष छानबिन गर्नुपर्ने भएपनि जसले आरोप लगाए, उनैलाई निलम्बन गरी गरिएको छानबिनले प्रतिवेदन समेत नबुझाउनसक्ने र भित्रभित्रै मिलाउने प्रयास हुनसक्ने स्थानीयको आशंका छ ।
पार्टीगत हिसाबमा राजनीतिकरण गरी दोषीलाई उम्काउने हुनसक्ने भएको स्थानीयको आशंका छ ।
निरौलाले माघ १२ गते आर्थिक अनियमितता भएको जानकारी गराएका थिए । छानबिन समितिलाई सहज बनाउनका निम्ति निरौलालाई निलम्बन गरिएको बताइएको छ ।
यता, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले भने टिकटको विषय भएको स्वीकार गरे ।
‘देख्नेले पनि पर रुखको फेदमा बसेर देखेँ भन्छ, हामीले दोहोरो मिसयुज नहोस् भनेर टिकट त्यहीँ च्यात्ने गरेका छौँ,’ खनालले भने, ‘देखेको कुरा मात्रै मौखिक रूपमा पेस भएको छ ।’
हाल छानबिन समितिले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
आरोप लगाउने व्यक्तिलाई नै छानबिन गर्न मिल्छ भन्ने प्रश्नमा खनालले भने, ‘सात सदस्यीयले दुवै जनालाई निलम्बन गरी आवश्यक परेको बेला दुवैजनालाई झिकाएर अनुसन्धान गर्ने भनेर हामीलाई परिपत्र दिएपछि सोही बमोजिम काम गरिएको हो ।’
हाल दुवैजनालाई छानबिनका लागि निलम्बन गरिएको उनको दाबी छ ।
यो पनि – तालतलैयामा अनियमितता भएको भन्दै कार्यालयमा गरियो तालाबन्दी
यो पनि – इटहरीको तालतलैयामा विवाद, कर्मचारीद्वारा कार्यसमिति सदस्यलाई रकम हिनामिनाको आरोप
Discussion about this post