इटहरी : ६ वटा प्रदेशले नामकरण टुंगो लगाइसक्दा प्रदेश १ को नामकरण भने अझै भएको छैन । नामकरणको विषयमा पटक–पटक आलोचना खेप्दै आएको प्रदेश १ ले नामकरण पाउने सम्भावना बढेको छ ।
यसअघि तीन मुख्यमन्त्री फेरिएपनि प्रदेशले नामकरण नपाउँदा दलहरू आलोचित बन्दै आएका थिए । तर, मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा बनेको प्रदेश १ सरकारले नामकरणको विषयलाई प्राथमिकता दिने भएको छ ।
अहिले नामकरणको विषयमा प्रदेश राजधानी समेत रहेको विराटगरमा छलफल भइरहेको नेकपा एमाले प्रदेश १ का सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
‘नामकरणको विषयमा अहिले विराटनगरमा छलफल भइरहेको छ,’ भण्डारीले टाकुरासँग भने, ‘नाम के राख्ने भन्ने विषयमा टुंगिएको छैन, छलफल पश्चात आजै प्रदेशसभामा प्रवेश हुनसक्छ ।’
छलफलपछि प्रदेशसभामा प्रक्रियाका लागि नामले प्रवेश पाउने उनले बताए ।
प्रदेश १ मा कोसी, सगरमाथा, किराँत, किराँत–लिम्बूवान जस्ता नाम चर्चामा छन् । चर्चामा आएका नाममध्ये नेकपा माओबादी केन्द्रले भने पहिचानका आधारमा नामकरण हुनुपर्ने माग राख्दै आएको छ । तर, अरु नै नाममा दुई तिहाई पुगेको अवस्थामा भने त्यसैमा सहमति गरेर अगाडि बढ्ने बताइएको छ ।
नाटकीय परिवर्तन नभए प्रदेशको नाम ‘कोसी’ हुने सम्भावना बलियो रहेको बताइएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले अहिले दलहरूबीच नामकरणको विषयमा छलफल भइरहेको बताए ।
उनले भने, ‘अहिले छलफल भइरहेको छ, सबैलाई स्वीकार्य हुनेगरी नामकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ उनले सबैलाई स्वीकार हुने नामकरण गर्नका लागि छलफल चलिरहेको बताए । नामकरणको विषयमा कांग्रेस सकारात्मक रहेको उनको भनाइ छ ।
प्रदेश १ कूल ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद आवश्यक पर्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
सर्वपक्षीय छलफलबाटै नामकरण टुंगो लगाउने प्रयत्न गरिएको बताइएको छ ।














Discussion about this post