धरान : धरानमा आन्तरिक राजश्व कार्यलयको सहजीकरण र सुनसरी उद्योग वाणिज्य संघको पहलमा व्यवसायीहरूलाई लक्षित गर्दै हेल्प डेक्स स्थापना गरिएको छ ।
व्यवसायीले आय विवरण र राजश्व दाखिला गर्दा कारोबार अङ्क फरक हुने समस्या (मिसम्याच) बढेपछि आन्तरिक राजस्व कार्यालय धरानका कर प्रमुख गोविन्दराज आचार्यको सभापतित्वमा आर्थिक ऐन २०७९ दफा २९ ले दिएअनुसार डे १, डे २ विवरण पेश गरेका करदाताहरूको कारोबार अंकमा फरक परेका करदाताहरूलाई छुट सुविधाबाट लाभान्वित हुनसक्ने करदाताहरूलाई सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरिएको हो ।
आर्थिक वर्ष ०७७।७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अङ्क फरक भएमा प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको एक दशमलव पाँच प्रतिशत व्यवसायीले दाखिला गर्नु पर्ने हुन्छ ।
२०७९ जेठ १४ सम्म कर निर्धारण भइसकेकाको हकमा आयकरतर्फ संशोधित कर निर्धारण र मूल्य अभिवृद्धि करतर्फ कर निर्धारण भई बक्यौता रहेका करदाताले कर निर्धारण गर्दा कायम रहेको थप बिक्री रकमको १.५ प्रतिशत कर दाखिला गर्नुपर्ने हुन्छ भने यो व्यवस्था आगामी चैत्र मसान्तसम्म रहने आन्तरिक राजस्व कार्यालय धरानले जनाएको छ ।
यो सुविधा नलिने करदाताहरुलाई प्रचलित कानूनअनुसार कर निर्धारण हुने र थप करको भार बढ्ने राजस्व कार्यालय धरानका कर प्रमुख आचार्यले थप जानकारी समेत दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा उवासंघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ व्यवसायीहरूलाई करका कतिपय विषय ज्ञान नभएका कारण करमाथि जरिवाना तिर्नुपर्ने अवस्था आएकाले व्यवसायी आफैँ सचेत हुनुको साथै यस्तो राखिएको हेल्प डेक्सले मिसम्याच र ननफाइलर व्यवसायीलाई लाभान्वित हुनुको साथै व्यावसायीहरूले अवसरका रुपमा सदुपयोग गर्न सुझाव दिएका छन् ।
उक्त कर शिक्षा तथा मिसम्याचबारे जानकारीका लागि धरान कर कार्यालयका प्राबिधिक आईटी विभाग अधिकृत गोविन्द पौडेलले सहजीकरण गरेका थिए ।
उनले व्यवसायीहरूले आय विवरण र कर दाखिला गर्ने विषयमा उठेका प्रश्नमा उत्तर पनि दिएका थिए । आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार धरानमा ७ सय करदाता छन् ।
हाल मिसम्याचमा परेका करदाताहरूले ५ हजारदेखि २५ हजारसम्म तिर्नुपर्ने देखिन्छ भने धरान राजश्व कार्यालयको तथ्याङ्क अनुसार कारोबार नगरेका तर राज्यलाई थाहा नभएका व्यवसायीहरु ननफाइलर विवरण नबुझाएका तर बर्सेनि करको भार बेहोरिरहेका मूल्य अभिवृद्धि करतर्फ ६ सय ९ जना करदाता रहेका छन् ।
आयकरतर्फ १६ हजार करदातामा ५० प्रतिशत ननफाइलर रहेको प्रमुख आचार्यले जानकारी गराए ।
चैत मसान्तसम्म आन्तरिक राजश्व कार्यालयले २२ करोड कर उठाउने लक्ष्य निर्धारण गरेको छ । जसमध्ये आयकरतर्फ १४ करोड, मूल्य अभिवृद्धि करतर्फ ४ करोड बढी र अन्तशुल्कतर्फ १ करोड ५९ लाख उठाउने लक्ष्य रहेको समेत कर प्रमुख आचार्यले बताए ।
उक्त कार्यक्रम गर्नुको मुल उद्श्यमाथि आयकर अधिकृत डिकबहादुर घिमिरेले प्रकाश पारेका थिए ।
उक्त हेल्प डेक्स उद्घाटन कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघ धरानका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, द्वितीय उपाध्यक्ष रामस्वरुप शर्मा ,महासचिव महेन्द्र प्रधान र सदस्यहरूमा जयप्रकाश शर्मा, शैलेश आचार्य, राजु साह, स्तुति श्रेष्ठ, विष्णु बराल लगायतको उपस्थिति रहेको थियो ।














Discussion about this post