झापा : झापामा शिक्षक सरुवा गरिदिने भन्दै चार लाख झ्वाम पारेका छन् ।
शिक्षकलाई पायक पर्ने स्थानमा सरुवा गरिदिन्छु भन्दै स्थानीय शिक्षक नेताले ४ लाख रुपैयाँ झ्वाम पारेका हुन्।
झापा शनिश्चरे घर भई हाल सरस्वती मावि श्रीजङ्घा ३ ताप्लेजुङमा कार्यरत नेपाली विषयका शिक्षक भवानी विष्टको ४ लाख रुपैयाँ झ्वाम पारेको उनले आरोप लगाएका छन् ।
घटना विवरणअनुसार शिक्षक विष्टलाई घरबाट आधा घण्टाको दूरीमा सरुवा गरिदिने भन्दै शिक्षक नेता कपिलमणि तिम्सिनाले विष्टलाई पुकारचन्द्र राजवंशीसँग सम्पर्क गराएका थिए ।
राजवंशीले शिक्षकको लाइन धेरै भएकोले जतिसक्दो चाँडो ३ लाख रुपैयाँ जम्मा गरिदिएमा पायक पर्ने स्थानमा सरुवा गरिदिने तर रकममा ढिलाइ गरेमा सरुवा हुन नसक्ने बताएपछि शिक्षक विष्टले उक्त रकम वैशाख १२ र १३ गते जम्मा गरिदिएका थिए ।
घटना गत वैशाख महिनाको हो । पुकारको प्रस्तावलाई स्वीकार गर्दै विष्टले एनआइसी एसिया बैङ्कमा रहेको राजिन राजवंशीको खातामा मोबाइल बैङ्किङमार्फत् रकम जम्मा गरिदिए ।
त्यसपछि विष्ट राजवंशीको पिछा लागे । सुरुमा विष्टलाई अमृत मावि बाह्रदशीमा पठाइएको थियो ।
उक्त माविमा निवेदन लिएर जाँदा यहाँ दरबन्दी खाली नभएको भन्दै फर्काएका थिए । त्यसपछि केही नेताको सोर्समा कचनकवल ३ स्थित मोती माविमा सामाजिक विषयको दरबन्दीमा राख्ने र एक महिनापछि पथरिया मावि कचनकवलमा खाली भएपछि त्यहाँ आउन आश्वासन दिएको भनाइ छ ।
यता आरोप लागेका राजवंशीलाई पटक–पटक फोन गर्दा ‘एकछिन ल’ भन्दै पन्छिएका छन् ।
Discussion about this post