विराटनगर : विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा कोशी प्रदेश सरकारले ३० लाख दिने घोषणा गरेको छ ।
विराटनगर किङ्सका खेलाडीलाई मङ्गलवार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।
मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिदैँ खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।
क्रिकेटबाट अन्तर्राष्ट्रिय रूपमै आफ्नो पहिचान बनाउन सकिने उल्लेख गरे ।
‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ,’ कार्कीले भने, ‘आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।’
विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए ।
प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुनेछ ।
Discussion about this post