इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । कार्कीले आफूलाई भेट्न आउने मानिसले मोबाइल फोन प्रयोग निषेध गर्ने निर्णय गरेका छन् ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार यो निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो ।
मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येकले अब मोबाइल फोन बाहिरै राख्नुपर्नेछ । यस्तो निर्णयपछि अब भेटघाटमा सहभागी हुनेहरूले कुनै पनि प्रकारको अडियो वा भिडियो रेकर्डिङ, लाइभ प्रसारण वा फोटो खिच्न पाउने छैनन् ।
मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ ।
मुख्यमन्त्रीको सचिवालयले धेरै समयदेखि यस्तो अभ्यास गरिएको दाबी गरे पनि यो प्रबन्ध सर्वसाधारणका लागि मात्रै लागु भएको छ । नेता, कर्मचारीहरूका हकमा भने यो प्रबन्ध लागू भएको छैन ।
खासगरी मुख्यमन्त्री कार्कीको उक्त निर्णयपछि लोकतान्त्रिक कार्यशैलीमा पारदर्शिता घटाउने संकेतका रूपमा व्याख्या हुन थालेका छन् । कार्कीलाई भेट्दा सर्वसाधारणले मोबाइल फोन प्रयोग गर्न नपाएपछि अहिले भने सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । मुख्यमन्त्रीको कार्यशैलीमाथि नै प्रश्न उठ्ने किसिमको उक्त निर्णयले भने अहिले सामाजिक सञ्जालमा अचम्मको नियम भन्दै आलोचना हुन थालेको हो ।
Discussion about this post