विराटनगर : प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रोमत दैनिकको आयोजनामा भएको कार्यक्रममा डा. साहको कृतिमाथि शनिबार विस्तृत छलफल गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले ‘गर्भको गर्व’ लाई एक अत्यन्तै पठनीय र महत्वपूर्ण कृति भएको बताए ।
उनले डा.साहले आफ्नो लामो पेसागत अनुभवका क्रममा देखेका र भोगेका यथार्थपरक घटनाहरूलाई पुस्तकमा जीवन्त रूपमा प्रस्तुत गरेकोमा प्रशंसा गरे । थपलियाले आफ्नी आमाले पनि उक्त पुस्तक अध्ययन गरिरहेको जानकारी गराउँदै यसको महत्वमाथि प्रकाश पारे ।
पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकारहरू हरि बराल, हरि कट्टेल र दिनेश श्रेष्ठले ‘गर्भको गर्व’ मा उल्लेखित कतिपय पात्र र प्रसंगहरू वास्तविक घटनामा आधारित रहेको बताए ।
उनीहरूले पुस्तकले महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलता, उमेरको अपरिपक्वतामा गरिने विवाह, जन्मान्तर कम हुँदाको समस्या, र छोराको चाहनामा एक नारीले ज्यानको बाजी लगाउनुपर्ने जस्ता संवेदनशील विषयहरूलाई सशक्त रूपमा उजागर गरेको उल्लेख गरे ।
पुस्तकमा प्रस्तुत प्रत्येक कथाको अन्त्यमा त्यससँग सम्बन्धित रोग एवं समस्याबारे विस्तृत जानकारी दिइएको पक्षलाई टिप्पणीकारहरूले विशेष रूपमा प्रशंसा गरे ।
कार्यक्रममा साहित्यकार तथा पत्रकार मीनकुमार नवोदित, साहित्यकार दिनेश सुवेदी, र प्रतीमा निरौलाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले डा. साहको यस कार्यको सराहना गर्दै यस्ता कृतिहरूले समाजमा चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै लेखक डा. साहले आफूले आफ्नो पेसाका क्रममा देखेका वास्तविक घटनाहरूलाई नै पुस्तकमा उतारेको बताए ।
उनले आगामी दिनमा पनि यसरी नै साथ र सहयोग पाएमा थप कृतिहरू बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार अनिल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले गरेका थिए । समापन मन्तव्य राख्दै आचार्यले सधैँ साहित्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
‘गर्भको गर्व’ ले नेपाली समाजमा गर्भावस्था र महिला स्वास्थ्यसम्बन्धी महत्वपूर्ण बहस सिर्जना गर्ने उनले बताए ।
साहित्यपोस्टले प्रकाशन गरेको ‘गर्भको गर्व’ गैरआख्यान विधाको पुस्तक हो, जसमा ९ वटा कथाहरू समेटिएका छन् ।
यी कथाहरू विशेषगरी महिलाले गर्भावस्थामा भोग्नुपर्ने विभिन्न जटिलताहरूमा केन्द्रित छन् ।
‘छोरी किन भएछु’, ‘चेलीका पीडा’, ‘प्रीतिको जित’, ‘रगतको जात’, ‘छोरीको माइती’, ‘त्यो लडाइँ’ जस्ता मार्मिक शीर्षकका कथाहरू पुस्तकमा पढ्न पाइन्छ ।
हरेक नारीको गर्भावस्थाको अनुभव फरक हुने र त्यसले ल्याउने जटिलता पनि उस्तै नहुने यथार्थलाई पुस्तकले गहन रूपमा प्रस्तुत गरेको छ ।
Discussion about this post