इटहरी : धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा खेती गरिएका तथा प्राकृतिक रुपमा उम्रिएका ठूलो मात्रामा गाँजाका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत धनकुटाको शहीदभूमी गाउँपालिका–५ मा अवस्थित करिब ५ रोपनी क्षेत्रफलमा रहेका करिब १० हजार गाँजाका बोट इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले नष्ट गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय राजारानीको टोलीले चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा ३ रोपनी क्षेत्रफलमा उम्रिएको करिब ४ सय गाँजाका बोट फडानी गरेको छ।
यसै क्रममा भोजपुरमा इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको संयुक्त टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडामा १० रोपनी जग्गामा फडानी भएको करिब १ हजार ५० गाँजाका बोट जलाई नष्ट गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अवैध खेती नियन्त्रण र मादक पदार्थ दुरुपयोग रोकथाममा निरन्तर अभियान जारी रहेको जनाएको छ।














Discussion about this post