इटहरी : भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा झुम्का कारागारबाट फरार भएका ५७२ जना कैदीहरू अझै फरार रहेका छन्। आन्दोलनको समयमा कैदीहरूले कारागारको पर्खाल तथा गेट तोडी भागेका थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार फरार कैदीहरूको खोजीका लागि हाल विशेष अनुसन्धान र सुरक्षा परिचालन जारी छ।
बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले प्रहरी र कारागार प्रशासनलाई ती कैदीहरूलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिएको बताए।
‘५७२ जना कैदी अझै फरार छन्, उनीहरूलाई पक्रने कामलाई प्राथमिकताका रूपमा अघि बढाइएको छ,’ घिमिरेले भने, ‘फरारमध्ये कुनै व्यक्तिले समाजमा आपराधिक गतिविधि गराउन नपाओस् भन्ने उद्देश्यले सीमा क्षेत्रमासमेत कडा निगरानी राखिएको छ।’
प्रमुख जिल्ला अधिकारी घिमिरेले प्रहरी प्रशासनले स्थानीय तह, सुरक्षाघेरा, नागरिक सहयोग र सूचनाको आदानप्रदानमार्फत फरार कैदीको अवस्थाबारे निरन्तर जानकारी संकलन गरिरहेको बताए।
खासगरी आन्दोलनलाई अपराधसँग जोडिएको बताउँदै उनले आन्दोलनका क्रममा भएका लुटपाट, आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूबारे प्रमाण संकलन भइरहेकोसमेत बताए ।
समाजमा एकै व्यक्तिले पनि आपराधिक घटना गराउनसक्ने भन्दै उनले सीमा क्षेत्रमासमेत निगरानी बढाइएको जानकारी दिए।
झुम्का कारागार कोशी प्रदेशकै सबैभन्दा ठूलो कारागार हो। जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि कारागार व्यवस्थापनमा चुनौती थपिएको प्रशासनले स्वीकार गरेको छ।
फरार कैदीमध्ये कतिपय हत्या, लागूऔषध, बलात्कार र डकैतीजस्ता गम्भीर अपराधमा सजाय भोगिरहेका थिए।
भिडिओ













Discussion about this post