विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट कार्यान्वयनमा देखिएको न्यून प्रगतिप्रति असन्तोष व्यक्त गर्दै कार्य प्रगति बढ्नेगरी तत्काल कदम चाल्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीद्वारा सोमवार आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट खर्च न्यून रहेका कार्यालयहरूमा अन द स्पट पुगेर छलफल गरी प्रगति बढाउन निर्देशन दिए।
उनले दुई–तीन वर्षदेखि निरन्तर बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेका कार्यक्रम तत्काल हटाउनुपर्ने निर्देशन दिए। “एउटै काम घनचक्कर जस्तै घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त्य हुनुपर्छ,” मुख्यमन्त्री कार्कीले भने।
मन्त्रालयभित्रकै कमीकमजोरी चाँडो हटाउँदै कामलाई द्रुत गतिमा अघि बढाउन उनले आग्रह गरे।
कर्मचारी, राजनीतिज्ञ र स्थानीय तहले आफ्नो अधिकार र जिम्मेवारी स्पष्ट रूपमा नबुझ्दा पनि समस्या उत्पन्न भएको उल्लेख गर्दै सबै पक्षले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न सके मात्र प्रगति सम्भव हुने मुख्यमन्त्रीको भनाइ थियो।
मुख्यमन्त्री कार्कीले केन्द्र सरकारबाट प्रदेशलाई अपेक्षित सहयोग नपाएको गुनासो पनि गरे।
“प्रदेशमा कुनै विषयमा पटक–पटक छलफल हुन्छ, केन्द्रमा पनि छलफल गरिन्छ भनिन्छ तर कार्यान्वयन हुँदैन, यसले काम गर्न झनै गाह्रो बनाएको छ,” उनले भने।
यातायातको अधिकार प्रदेशमा भए पनि त्यसबाट उठेको जरिमाना केन्द्र सरकारले लैजाने गरेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले २०७५ सालदेखि यो विषय उठाइँदै आएको भए पनि केन्द्रले नसुनेको गुनासो गरे।
त्यस्तै, लाइसेन्स छपाइको अधिकार प्रदेशमै भए पनि केन्द्रले सहज रूपमा हस्तान्तरण नगर्दा समस्या सिर्जना भएको उनको भनाइ छ।
बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन–कानुन संशोधन, पुनर्निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।












Discussion about this post