मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–२ लालभित्ती क्षेत्रमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ सडक पार गर्दै गरेका अन्दाजी ७९ वर्षीय जसबहादुर राईलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते राईलाई तत्काल विराटनगरस्थित नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय अभिषेक निरौलालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले राजमार्ग क्षेत्रमा जेब्राक्रसिङ, गतिनियन्त्रण र ट्राफिक निगरानी प्रभावकारी नहुँदा वृद्ध तथा पैदलयात्री जोखिममा पर्ने गरेको गुनासो गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।













Discussion about this post